सन् १९९३ मा मुम्बईमा शृंखलाबद्ध बम बिस्फोट भयो । यो एक अत्यासलाग्दो र दर्दनाक मात्र होइन, खेदजनक कृत्य पनि थियो । त्यसबेला धराप थाप्न आतंककारीले एक हजार किलो आरडिएक्स (विस्फोटक पदार्थ) मुम्बई भित्र्याएका थिए, जसमध्ये मुम्बई हमलामा ४ सय किलो प्रयोग भयो । बाँकी ६ सय किलो आरडिएक्स कहाँ छ ?
यही प्रश्नबाट शुरु हुन्छ फिल्म ‘सूर्यवंशी’को कथा । प्रहरीले सुराक पाएको छ कि, मुम्बईमा अर्को भयानक हमला हुनेवाला छ । र, यसमा त्यही आरडिएक्स प्रयोग गरिँदैछ जो २८ वर्षअघि मुम्बई हमलापछि बाँकी रहेको थियो ।
अब प्रहरी सामुन्ने ठूलो चुनौती खडा छ, लुकाइएको आरडिएक्स पत्ता लगाउने र हिन्दुस्तानका शहरलाई सम्भावित विध्वंशबाट जोगाउने ।
मुम्बईमा भएको बम विस्फोटकको घटना सत्य हो । त्यही घटनामा टेकेर बुनिएको काल्पनिक कथाले ‘सूर्यवंशी’लाई डोर्याउँछ । काल्पनिक सही, सूर्यवंशीले दर्शकको ध्यान भड्काउँदैन । बरु कथाको बेगसँगै एकोहोरो बनाउँछ ।
कोरोना महाव्याधिपछि तहसनहस सिनेमा हल अब के होला ? सर्वत्र चिन्ता र चासो थियो । यसैबीच ओटीटी यस्तो हस्तक्षेपकारी प्लेटफर्मको रुपमा आयो, जसले सिनेमा हलको अस्तित्वमाथि नै प्रश्न उठाइदियो । ओटीटी प्लेटर्फममा धमाधम फिल्म-शृंखला सार्वजनिक हुन थालेपछि यो संशय अरु गाढा बनेको थियो, के साँच्चै मान्छेहरु अब फिल्म हेर्न हलमा जानेछन् ?
‘सूर्यवंशी’ले यो आशंका मेटिदिएको छ । र, जवाफ दिएको छ, ‘जानेछन्, निर्धक्क जानेछन् ।’ यसका लागि एउटै शर्त बाँकी रह्यो, सिनेमा गजब हुनुपर्यो ।
उसो त रोहित सेट्ठीप्रति धेरै अपेक्षा गर्नु बेकार हुन्छ । उनी गहकिलो मुद्दा र घतलाग्दो प्रस्तुति लिएर हम्मेसी आउँदैनन् । गाडी अनि पुलिसको आश्चर्यलाग्दो चमत्कार देखाउनु चाहिं उनको निजी विशेषता हो । यद्यपि उनको फिल्ममा केही त त्यस्तो तत्व हुन्छ, जसले दर्शकलाई अविचलित रुपमा हलमा बाँधेर राख्न सक्छ । ‘सूर्यवंशी’ त्यसैको एक दृष्टान्त हो ।
कस्तो छ कथा ?
‘सिंघम’ र ‘सिम्बा’ को पूर्ववत् शैलीलाई पच्छ्याउँदै ‘सूर्यवंशी’को कथा अगाडि बढ्छ । यसमा मुम्बई एन्टी टेरोरिज्म स्क्वाडका एक प्रहरी अधिकारी छन्, वीर सूर्यवंशी (अक्षयकुमार) । उनीसँग मात्र दुईवटा कमजोरी छन् । एक, कसैको नाम सही ढंगले याद गर्न नसक्ने । दुई, परिवारप्रति पूर्ण उत्तरदायित्व निर्वाह गर्न नसक्ने । जबकि उनी एक जब्बर प्रहरी हुन्, जो छातीमा गोली लाग्दा समेत आफैंलाई उपचार गर्ने डाक्टरसँग रोमान्स गर्न भ्याउँछन् ।
एकातिर उनको प्रेम-जीवनको ब्यारोमिटर चढ्दैछ, अर्कोतिर शहरमा आतंकको बादल मडारिँदैछ । मुम्बई शहर, जो पटक–पटक आतंककारीको निशाना बन्यो । यो शहरले एकपछि अर्को शृंखलाबद्ध बम बिस्फोटको घाउ सहनु परेको छ । भनिन्छ, मुम्बईमा अब ती सबैभन्दा भयानक बम हमला हुनेवाला छ । यो गुप्त योजनालाई विफल तुल्याउँदै सिंगो भारतलाई आगोको मुस्लोमा परिणत हुन नदिन सूर्यवंशी कटिबद्ध छ । यसका लागि उनी जहान-परिवार छाडेर किनपनि लागिपरेका छन् भने विगतमा भएको मुम्बई हमलामा उनले आफ्ना आमा-बुवा गुमाएका थिए ।
शहरमा स्लीपर सेल सल्बलाइसकेका छन् । यसका मास्टर माइन्ड उमर हफीज (ज्याकी श्राफ)ले कठोर बदलाको भावसहित ४० जनाको समूहलाई भारतका विभिन्न शहरमा पठाएका छन्, जसलाई ती शहरमा आ-आफ्नै पेशा-व्यवसाय गरेर बस्न छुट छ । उनीहरुले त्यसबेलासम्म कसैको हानी पुर्याउने छैनन्, जबसम्म सही समय आउँदैन । र, यस्तो समय आउन वर्षौंवर्ष लाग्न सक्छ ।
आतंककारीहरु चाहन्छन्, हिन्दुस्तानका शहरमाथि आगोको लप्काहरु उठेको हेर्न । र, सम्पूर्ण शहर खरानी भएको । किन ?
किनभने हिन्दुस्तानमा उनीहरुमाथि ज्यादती भएको छ । कतिले त्यहाँ आमाबुवा गुमाए, कतिले बालबच्चा । अर्थात् हिन्दुस्तानले उनीहरुको जीवनमा कहिल्यै नमेटिने चोट दिएको छ, जसको बदला लिन उनीहरुले आतंकको बाटो अपनाएका छन् । र, मुस्लिमको मुखुण्डो ।
सूर्यवंशी भन्छन्, ‘इस देश मे जितनी नफरत कसाब के लिए है, उतनी ही इज्जत कलाम के लिए भी है ।’ अर्थात् हिन्दुस्तानले मुस्लिमलाई हेलाहोचो गरेको छैन । बरु श्रद्धा गर्छ । सम्मान गर्छ । तर, मुस्लिमको आडमा आतंक मच्याउनेप्रति भने हिन्दुस्तान कोमल छैन । कठोर छ ।
उनीहरु भन्छन्, ‘टेरोरिज्मले अरुलाई होइन आफ्नै मुलुकलाई हानी भएको छ । टेरोरिज्मको कारण त्यति सुन्दर देशमा टुरिज्म फस्टाएको छैन ।’
तर, बदलाको भाव बोकेका ती समूह यस्ता अर्ती सुन्न तयार छैनन् । उनीहरुको एक मात्र ध्येय छ, जसरी पनि हिन्दुस्तानका शहरलाई खरानी बनाइदिने । अब यो लडाइँ कहाँ पुगेर टुंगिन्छ ? वर्षौंदेखि बिच्छ्याइएको आतंकको जालोलाई प्रहरी अधिकारीले कसरी ध्वस्त बनाइदिन्छ ?
२ घण्टा २५ मिनेट फिल्मले यसैको जवाफ खोज्छ ।
रोहितको जादु
‘खतराका खेलाडी’ रोहित सेट्ठी र ‘खेलाडीका खेलाडी’ अक्षयकुमारको एक्सन–थ्रिलर फिल्म हो, सूर्यवंशी । बलिउडले पटक-पटक बुन्ने आतंककारीको कथालाई यसले नवीकरण गरेको छ । आतंककारी र प्रहरीबीचको घम्साघम्सीबीच फिल्मको मूल कथा बग्छ । पूर्ववत् रुपमै मुस्लिम अनुहारमा आतंककारीको मुखुण्डो पहिर्याइएको छ । तर, असली मुस्लिम आतंककारी छैनन् भन्ने कुरा पनि पुष्टि गर्न खोजिएको छ ।
बम विस्फोट हुने भयले तितरबितर हुँदै गरेको एक व्यस्त गल्लीमा जब गणेशको प्रतिमालाई जोगाउन मुस्लिमहरुले हातेमालो गर्छन्, यस्ता दृश्यहरुले धार्मिक सहिष्णुताको कुरालाई अरु प्रगाढ बनाउन खोजिएको छ । मस्जिदको पृष्टभूमिमा गणेशको प्रतिमालाई देखाएर सबै धर्म, जातजातिप्रति सम्मान पनि दर्शाइएको छ ।
रोहितको फिल्ममा गाडीको रोमाञ्चक खेल किन पो छुट्थ्यो र ? उनले सूर्यवंशीमा पनि भरपुर मात्रामा गाडी उडाउने, पड्काउने काम गरेका छन् । उनको एक्सन-कोरियोग्राफी भव्य छ । सिनेम्याटोग्राफी र ब्याकग्राउन्ड स्कोरको तालमेलले सिनेमा हलको रौनक बढाइदिन्छ ।
तर, मध्यन्तरघि कथा जति तीव्रताका साथ फिल्म अगाडि बढेको छ, त्यसपछि यताउता अल्झिएको छ । परिवारप्रेमलाई जोड्न र हास्य खुराकहरु समेट्न खोज्दा कथा धीमा बनेको छ । सिम्बा (रणवीर सिंह) र सिंघम (अजय देवगण)लाई प्रवेश गराएर क्लाइमेक्समा जसरी धमाका देखाउन खोजिएको छ, त्यस विपरीत मूल कथाको गाम्भीर्यता फितलो बनेको छ । एक्सनमा बढी हाँसो-मनोरञ्जन पस्कँदा डरलाग्दा आतंककारीहरु समेत जोकर जस्तै बन्न पुगेका छन् ।
आखिर जे भएपनि रोहित सेट्ठीको आत्मविश्वासले सही नतिजा दिएको छ । लामो शून्यता र सन्त्रासपछि उनले सिनेमा हलको चहलपहल बढाइदिएका छन् । ‘सूर्यवंशी’ले यो सावित गरिदिएको छ कि, अब दर्शक निर्धक्क हलमा आउनेछन् । बस्, फिल्म फिल्मजस्तै हुनुपर्यो।
फिल्म : सूर्यवंशी
निर्देशक: रोहित सेट्ठी
जनरा : एक्सन थ्रिलर
अवधि : २ घण्टा २५ मिनेट
कलाकार : अक्षयकुमार, क्याटरिना कैफ, ज्याकी श्राफ, अभिमन्यू सिंह, गुल्शन ग्रोवर, कुमुद मिश्रा आदि ।
कार्यविधि संवाददाता । २१ कार्तिक २०७८, आईतवार ०७:५९ बजे