रानीघाट पुल निर्माण १३ वर्षदेखि अधुरै

वीरेन्द्रनगर — रानीघाट पुल निर्माणको कार्य १३ वर्षदेखि अलपत्र परेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा निर्माणाधीन रानीघाट पुल १३ वर्षसम्म पूरा हुन सकेको छैन । २०६९ मा रानीघाटमा पुल निर्माणको ठेक्का लागेको थियो । तर अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन ।

रानीघाटमा भेरी नदीमाथि ४२ महिनाभित्र पुल बनाउन २०६९ असार २९ मा पप्पु–मल्ल जेभीले १४ करोड २९ लाख ८९ हजार रुपैयाँमा ठेक्का लिएको थियो । ४३ महिना अर्थात् २०७२ पुस २९ भित्र पुल निर्माण सक्ने सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय सुर्खेतसँग ठेक्का लिएको कम्पनीले ४ करोड ३८ लाख २२ हजार रुपैयाँ भुक्तानी लिए पनि प्राविधिक कारण देखाएर काम अलपत्र पारेको छ ।

भेरी नदीमा यो पुल निर्माण नहुँदा कर्णालीको सुर्खेतबाट लुम्बिनी प्रदेशको बर्दियालाई जोड्ने सडक अलपत्र परेको छ । सुर्खेत र बर्दिया जोड्ने भुरीगाउँ–तेलपानी सडक सञ्चालनका लागि यो पुल अनिवार्य छ । तर, यही पुल १३ वर्षदेखि अलपत्र पर्दा बर्दियाको भुरीगाउँदेखि सुर्खेतको तेलपानी जोड्ने सडकको स्तरोन्नति हुन सकेको छैन । जसले गर्दा छोटो मार्ग भएर पनि स्थानीयलाई आउजाउ गर्न लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता छ ।

वीरेन्द्रनगर–२ का देवबहादुर कामीले पुल नबनेर सास्ती पाइरहेको गुनासो गरे । ‘पुल बने यहाँबाट बर्दिया जानलाई धेरै सहज हुने थियो,’ उनले भने, ‘आउजाउको सहज मात्र हैन, व्यापारिक हिसाबले पनि फाइदा हुने थियो । हामीले सामान्य व्यापार गरेर पनि जीविकोपार्जन गर्न सहज हुने थियो । आर्थिक रूपले हामी सक्षम बन्ने थियौं । तर लामो समयसम्म पुल नबन्दा समस्या भएको छ ।’

पुल नबन्दा स्थानीयले उत्पादन गरेका कृषि उपज पनि बजार पठाउन नपाएको उनले बताए । यतिका वर्षसम्म पुल नबन्नु सम्बन्धित निकायको ठूलो कमजोरी भएको उनको भनाइ छ । ‘चुनावका बेला यही पुललाई एजेन्डा बनाउने नेताहरू चुनावपछि वास्ता गर्दैनन्,’ उनले भने, ‘सबै नेताले यो पुल बनाउँछौं भन्छन्, तर कसैले पनि बनाएनन् ।’

यो सडकको लम्बाइ ५२ किलोमिटर छ । भेरीमा पुल बनेर सडकको स्तरोन्नति भएमा सुर्खेतलाई तराईसँग जोड्ने यो सबैभन्दा छोटो मार्ग हुनेछ । तर यहाँ पुल निर्माण नभएकाले अहिले सुर्खेतबाट कोहलपुर हुँदै बर्दियासम्म पुग्नुपर्ने बाध्यता छ ।

बराहाताल गाउँपालिका–२ का ओमबहादुर घर्ती मगरले रानीघाट पुल नबन्दा धेरै असर परिरहेको बताए । पुल बन्न सुरु भएका बेला खुसी भएका स्थानीय यतिका वर्षसम्म काम नहुँदा निराश बनेको उनले बताए । पुलकै कारण सडकको काम पनि अघि बढ्न नसकेको उनले बताए । पुल निर्माण अलपत्र परेपछि अहिलेसम्म बनेका संरचना पनि बिग्रिँदै गएको उनको भनाइ छ ।

कर्णालीलाई लुम्बिनी प्रदेशसँग जोड्ने यो मार्ग छोटो भएकाले बारम्बार यो सडकको स्तरोन्नति र पुल निर्माणको काम अघि बढाउनका लागि कुरा उठिरहेको छ । तर यो सडक निर्माणको योजना हाल अलपत्र परेको छ । आर्थिक वर्ष २०७१/०७२ यता उक्त सडक योजनाको काम अगाडि बढ्न सकेको छैन । आधा काम भइसकेको आयोजनामा बजेट विनियोजन नहुँदा थप काम अघि बढ्न सकेको छैन । बर्दियाबाट सुर्खेतको सिमानासम्म र सुर्खेतबाट बर्दियाको सिमानासम्म ट्रयाक खोल्ने काम पनि आधा मात्र भएको छ ।

सुर्खेतको तेलपानीदेखि बर्दियाको भुरीगाउँसम्म जोड्ने ५२ किलोमिटर सडक निर्माणको योजना २०७० सालदेखि अघि बढाइएको हो । पछिल्ला वर्षमा सरकारले यो सडकका लागि बजेट छुट्याउन छोडेको छ । बर्दियाको भुरीगाउँबाट सुर्खेतको तेलपानी जोड्ने सडकमध्ये १२ किलोमिटर बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्छ । यहाँका राजनीतिक दलले पटक–पटक जिल्लामा आउने सरकार एवं राष्ट्र–प्रमुखलाई यो सडक निर्माणका लागि भन्दै दर्जनौं मागपत्र बुझाइसकेका छन् । तर काम हुन सकेको छैन । लामो समयसम्म पुल नबनाएपछि २०७९ असार २० मा ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी जफत गरिएको थियो ।

सडक डिभिजन कार्यालयले ८० लाख ७९ हजार रुपैयाँ बैंक ग्यारेन्टी जफत गरेको हो । पुलको डिजाइनमै गल्ती देखिएको भन्दै निर्माणको काम बीचमै छाडेको ठेकेदारसँग ठेक्का तोडिसकेको सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर बर्खबहादुर कठायतले जानकारी दिए । उनका अनुसार पछि यसलाई सच्याउने कुरा अघि बढे पनि काम हुन सकेन । ठेक्का तोडिएपछि ठेकेदार कम्पनी अदालत गएको छ । मुद्दा विचाराधीन रहेकाले पुल निर्माणको नयाँ ठेक्का प्रक्रियासमेत अघि बढ्न सकेको छैन । ‘अदालती प्रक्रिया सकिएपछि मात्र काम अघि बढ्ने देखिएको छ,’ उनले भने ।