नेपाली कांग्रेसकाे १४औं महाधिवेशन अन्तरगत मुस्ताङ जिल्ला रोमी गौचन थकालीको सभापतित्वमा कार्यसमिति चयन भएको छ ।
थासाङ गाउँपालिका–३ लेतेमा शुक्रवार सम्पन्न जिल्ला अधिवेशनबाट गौचनको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन भएको हो ।कांग्रेस मुस्ताङको निर्वाचन समितिका संयोजक अनन्त आचार्यले सहमतिमा नेतृत्व चयन भएको जानकारी दिए ।
सभापतिमा निर्वाचित गौचन पूर्व वाणिज्य मन्त्री हुन् । उपसभापतिमा विजय हिराचन, ढोका गुरुङ, सचिवमा विकल शेरचन, छेवाङ नर्बु गुरुङ, सहसचिवमा नम्डुल गुरुङ, सोमल हिराचन र कोषाध्यक्षमा गणेश शेरचन चयन भएका छन् ।
वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिले कार्यसमितिका १५ सदस्य पनि सर्वसम्मत चयन गरेका छन् । सभापतिमा निर्वाचित थकालीले जिल्लाका नेता कार्यकर्ताको अपेक्षा अनुसार मुस्ताङमा पार्टीलाई बलियो बनाउन र एकताको सन्देश दिन आफू नेतृत्वमा आएको बताए ।
कांग्रेसको १४औं महाधिवेशन अन्तरगत मुस्ताङका सबै वडा र पालिका पनि सहमतिमा नेतृत्व चयन भएको थियो । घरपझाङ गाउँपालिकामा यामप्रसाद थकाली, लोमान्थाङ गाउँपालिकामा छेवाङ झिम्मी बिष्ट, लोघेकर–दामोदरकुण्ड गाउँपालिकामा टसी लेण्डुप गुरुङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आङजिङ गुरुङ र थासाङ गाउँपालिकामा रुपेश गौचनको सभापतित्वमा ३२/३२ सदस्यीय कार्यसमिति चयन भएको थियो ।
कार्यविधि संवाददाता । १६ आश्विन २०७८, शनिबार १९:५९ बजे