सडक निर्माण सम्पन्‍न नहुँदै भत्कियो

धनुषा – विभिन्‍न राजनीतिक दलहरुको अस्तित्वको लडाइँको घानमा परेको धनुषा र महोत्तरीलाई भारतीय सीमासँग जोड्ने जनकपुर–भिठामोड सडकखण्डको निर्माण कार्य पाँच वर्ष अगाडि सुरु भयो। एक दशकदेखि काम गर्ने भन्दै अलपत्र पारिएको यो सडकखण्डको निर्माण तीन वर्षभित्रै सम्पन्‍न हुने गरी २०७३ सालमा सुरु भएको हो। तर, यो सडकखण्ड निर्माण सम्पन्‍न नहुँदै भत्किन थालेको छ।

निर्माण अवधि समाप्त भए पनि निर्माण सम्पन्‍न हुन नसकेको सो सडक खण्डमा कमसल सामग्री प्रयोग, गुणस्तरहीन कामलगायतका कारण सडक नै भत्किन थालेको स्थानीयहरुको आरोप छ। चार लेन भनिएको सो सडक खण्डमा अधिकांश ठाउँमा र सडक छेउमा कालोपत्रे, कल्भर्ट र पुललगायतका काम अझै बाँकी छ।

हुलाकी राजमार्ग परियोजनाको निगरानीमा निर्माण भइरहेको जनकपुर भिठामोड सडक खण्डको सडकमै गहिरो खाल्डाखुल्डी, ठाउँ-ठाउँ सडक भत्किएकाले सवारीसाधन आवागमनमा समस्या हुँदै आइरहेको छ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले तीन वर्षमा सम्पन्‍न गर्ने गरि २०७३ भदौ २४ गते सो सडकको शिलान्यास गरेका थिए। ९३ करोड ४३ लाखको लागतमा निर्माण भइरहेको सो सडकका लागि नेपाल सरकारले १८.५६ किमिको उक्त सडकको दुई खण्डमा निर्माण गर्ने सम्झौता गरेको थियो।

पहिलो खण्डमा जनकपुरधामस्थित जिरोमाइलदेखि महोत्तरीको पिपरासम्म श्री प्रतिभा वाई पीजेभीलाई ४३ करोड ५४ लाख ७२ हजार आठ सय चौहत्तर भ्याटसहितमा ठेक्का सम्झौता गरेको थियो। त्यस्तै दोस्रो खण्डमा पिपरादेखि भिठामोडसम्म नौ दशमलव ५६ किलोमिटर सडक श्री आशिष पप्पु रोशन जेभी ४९ करोड ८९ लाख २० हजार ७ सय ७ रुपैया भ्याटसहित बजेट निकासा भइ ठेक्का सम्झौता गरेको थियो।

सम्झौता अनुसार तीन वर्षमै सक्नुपर्ने काम पाँच वर्षसम्ममा पनि पूरा नहुँदा स्थानीयमा आक्रोश देखिएको छ। हुलाकी राजमार्ग निर्देशनालय जनकपुरका कर्मचारी, धनुषा र महोत्तरीका प्रशासनको आर्थिक चलखेल गरिरहेको आरोप लगाउँदै पिपरा गाउँपालिका-३ का स्थानीय निशान्त मिश्राले गुणस्तरहीन र मापदण्ड विपरीत निर्माण भइरहेकोले सडकको निर्माण पूरा नहुँदै भत्किन लागेकोमा आक्रोश व्यक्त गरे।

हुलाकी राजमार्ग परियोजनाका प्रमुख कृष्णकुमार महतोले सडकको गुणस्तरमा कुनै किसिमको खराबी नरहेको दाबी गरेका छन्। उनले स्थानीयवासी जनकपुर भिठामोड सडकखण्डलाई जनकपुर ढल्केवर सडकखण्डसँग तुलना गरिरहेको जानकारी दिँदै भने, ‘दुबै सडकको निर्माण प्रकृया नै फरक छ। जनकपुर–भिठामोड सडकखण्ड डिबीएसडी प्रविधिमा निर्माण भइरहेको छ, जबकि जनकपुर–ढल्केवर स्फाल्ट प्रविधिमा निर्माण भइरहेको छ।’

उनले थपे, ‘स्फाल्ट प्रविधि डीबीएसडी प्रविधिभन्दा उत्तम र खर्चिलो प्रविधि हो।’ तर निर्माण भइरहेको जनकपुर भिठामोड सडकखण्ड पनि टिकाउ नै रहेको महतोले दाबी गरे। उनले निर्माण कार्य सम्पन्‍न भएको चार वर्षपछि फेरि त्यो समयमा एक लेयर थपिने बताए। महतोले भने, ‘लेयर थप गर्ने बेलामा स्फाल्ट प्रविधिका लागि सम्झौता गरियो भने जनकपुर ढल्केवर सडकखण्ड जस्तै यो सडक पनि टिकाउ हुनेछ।’ यद्यपि अहिले डीबीएसडी प्रविधिका लागि सम्झौता भएकाले सोही अनुसार ९० प्रतिशत काम सम्पन्‍न भइसकेको र बाँकी काम आगामी आर्थिक वर्ष सुरु हुनुभन्दा अगावै पूरा हुने महतोले बताए।