भारत लैजाँदै गरेका २९ नेपाली बालकको उद्धार

काठमाडौं।  विभिन्न नाकामा खटिएको नेपाल प्रहरी तथा माइती नेपालको टोलीले भारतको कर्नाटकमा रहेको गुम्बामा बौद्ध शिक्षा पढाउन  १६ वर्षभन्दा मुनिका  नेपाली २९ बालकलाई उद्धार गरेको छ। ओसारपसार गर्ने ८ जना प्रक्राउ परेका छन्। उनीहरलाई काठमाडौंको थानकोट नाका, झापाको काकडभित्ता नाका तथा सिन्धुलीबाट उद्धार गरिएको हो।

प्रहरीको मानव बेचविखन व्युरो प्रमुख एसएसपी दुर्गा सिंहका अनुसार मसिर १४ गते काठमाडौंबाट बाहिर जाने थानकोट नाकामा खटिएको प्रहरीको टोली र माइती नेपालको समूहले १३ वर्षमुनिका १६ जना बालकलाई थानकोटबाट उद्धार गरेको छ।

एकैपटक १६ जना बालकहरुको उद्धार गरिएपछि प्रहरीले भारतको कर्नाटकमा रहेको गुम्बामा बौद्ध शिक्षा र लामा शिक्षाका लागि नेपाली बालकहरु ओसारपसार हुने तथ्य फेला पारेको हो। थानकोटमा भेटिएका ती बालकहरुसँग सोधपुछ गर्ने क्रममा बालबालिकाको गैरकानुनी ओसारपसार भएको खुलेको हो।

अघिल्लो हप्ता नवलपरासी देवचुलीका सन्तविर लामा पनि ५ जना बालकसहित प्रक्राउ परेका थिए। उनले विभिन्न जिल्लामा गएर गाउँमा निम्न बर्गीय परिवारका बालकहरु फकाउने गर्थे। निशुल्क खान लाउन पाइने र पढ्न पनि पाइने भन्दै अभिभावकलाई प्रलोभनमा पारेर भेला गर्नेगरेको प्रहरीले जनाएको छ। कपनमा रहेको गुम्बामा जम्मा गरेर भारतको कर्नाटक राज्यमा रहेको विभिन्न गुम्बामा लैजाने गर्थे।

सिंहका अनुसार प्रक्राउ परेका सन्तविरले सिन्धुलीको खुर्कोटमा गएर वडा कार्यालयको सिफारिस बनाउने क्रममा लामा प्रक्राउ परेका हुन्। अनुसन्धानका क्रममा उनले यसअघि पनि ८० भन्दा बढी बालकहरु भारतमा पुराएको खुलेको छ। उनलाई मानव बेचविखन तथा ओसारपसार कसुरमा अनुसन्धान भैरहेको छ।