काठमाडौँ । नियामकीय असहयोगका कारण एफवन सफ्टले विकास गरेको नयाँ प्राविधिक अवधारणा ‘अरेन्ज नेक्स्ट’लाई लक्ष्मी सनराइज बैँकले बन्द गरेको छ । एफवन सफ्टले विकास गरेको अरेन्ज नेक्स्टको सेवा बन्द गर्न नियामक नेपाल राष्ट्र बैँकले तीन महिनाअघि लक्ष्मी बैँकलाई पत्राचार गरेको थियो ।
सहभागी ग्राहकलाई अबदेखि नयाँ पैसा जम्मा (डिपोजिट) नगर्न बैँकले एसएमएस पठाउन थालेको छ । १० मंसिरदेखि कुनै पनि नयाँ डिपोजिट स्वीकार नगरिएको भन्दै बैँकले अर्को सूचना नभएसम्मका लागि यो सेवा बन्द गरेको हो ।
बैँकले अरेन्ज नेक्स्टमा भएको रकम १५ मंसिरसम्ममा प्रयोग गर्न वा छिटोभन्दा छिटो आफ्नो बैँक खातामा सार्न अनुरोध गरेको छ ।
परम्परागत बैङ्किङ अभ्यासलाई प्रविधिको प्रयोगमार्फत झन्झटमुक्त र सरल बनाउन भन्दै लक्ष्मी सनराइज बैङ्कले सञ्चालनमा ल्याएको सो सेवा बन्द गर्न केन्द्रीय बैँकले साउन अन्तित साता निर्देशन दिएको थियो ।
अरेन्ज नेक्स्टमार्फत बैँक नै नपुगी खाता खोल्नेदेखि अन्य विभिन्न सेवा मोबाइलबाटै लिन सकिन्छ । यो शतप्रतिशत डिजटल र मोबाइलबाटै सबै बैँकिङ सुविधा पाइने नियो बैङ्किङको रूपमा चिनिन्छ । डिजिटल बैँकको नयाँ सोलुसनको रूपमा अरेन्ज नेक्स्टलाई अर्थ्याइएको छ । मोबाइल एपबाटै सहज ढङ्गले बैङ्किङ सेवा दिलाउने उद्देश्यसहित अरेन्ज नेक्स्ट विकास गरिएको उल्लेख छ ।
फिनटेक कम्पनी एफवन सफ्ट समूहको फोन नेक्स्टले तीन वर्ष लगाएर विकास गरेको अरेन्ज नेक्स्ट जनवरी २०२४ देखि लक्ष्मी बैँकले सञ्चालन गरिरहेको छ । बैङ्किङ कारोबारलाई मोबाइलबाट सुरु गराएर मोबाइलमै टुङ्ग्याउने सोचसहित अरेन्ज नेक्स्ट निर्माण भएको हो । यसमा बैँक खाता खोल्न, केवाईसी भर्न वा मोबाइल बैङ्किङ सुरु गर्न, कुनै पनि कामका लागि बैँकसम्म धाउनु पर्दैन । सबै काम डिजिटल माध्यमबाटै गर्न सकिन्छ ।
यो प्रडक्ट सुरु गर्न लक्ष्मी बैँकले अहिले भइरहेको बैङ्किङ प्रणालीबाट सम्भव नभएपछि एफवन सफ्ट ग्रुपलाई फरक सेटअपसहित छुट्टै प्याकेज निर्माणको प्रस्ताव गरेको थियो । सोहीअनुसार एफवन सफ्टले लक्ष्मी बैँकलाई फरक प्रणाली डिजाइन गरेर दिएको थियो । तर, राष्ट्र बैँकले भने अरेन्ज नेक्स्टजस्ता नयाँ बैङ्किङ प्लेटफर्महरूको ‘रेगुलेटरी फ्रेमवर्क’ नबनेको भन्दै विद्यमान बैङ्किङ प्रणालीमा ग्राहक सारेर सेवा स्थगित गर्न निर्देशन दिएको थियो ।
लक्ष्मी बैँकले नयाँ प्रडक्ट भएकाले सानै सेटअपबाट अरेन्ज नेक्स्ट सुरु गरेको थियो । प्रस्ट नियमन नहुँदा एकैचोटि ठुलो सेटअप तयार गरेर ठुलै लगानी नगर्ने गरी लक्ष्मी बैँकले यस्तो अवधारणा अपनाएको थियो ।
केवाईसी अपडेट गरेका ३०-३५ हजार ग्राहक अरेन्ज नेक्स्टमा आबद्ध थिए । एप डाउनलोड गरेर कुनै न कुनै रूपमा सेवा उपभोग गर्नेको संख्या ६० हजारभन्दा बढी थियो । यसरी सञ्चालनमा रहेका खातामा १५ करोड रुपैयाँभन्दा बढी रकम रहेको बताइएको छ ।


कार्यविधि संवाददाता । १४ मंसिर २०८२, आईतवार १०:३४ बजे