दीपिकाको फरक चर्चा

मुम्बई : पछिल्लो समय बलिउड अभिनेत्री दीपिका पादुकोण ‘गहराइया’ चलचित्रको प्रमोसनमा व्यस्त छिन् । चलचित्रको प्रमोसनका क्रममा पहिरिएका पहिरनका कारण उनले सामाजिक सञ्जालमा छुट्टै चर्चा बटुलिरहेकी छन् । धेरैले उनको ‘लुक्स’को प्रसंशा गरेका छन् भने पहिरनको सवालमा उर्फी जावेदसँग प्रेरित भएको भन्दै दीपिका ट्रोलको सिकारसमेत बनेकी थिइन् । चलचित्रको प्रचारप्रसारका क्रममा हरेक दिन उनलाई भिन्नभिन्न अवतारमा देख्न थालेपछि उनले प्रसंशासँगै ट्रोलको सिकारसमेत बन्नु परेको हो ।

चलचित्रको प्रमोसनकै क्रममा उनी कालो रंगको बडीकोनमा सजिएकी थिइन् । यस क्रममा उनको पहिरनको मात्र होइन, हिल्सले पनि छुट्टै चर्चा पाएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार निकै महंगो मूल्यको हिल्स लगाएका कारण त्यसले चर्चा पाएको हो । भारतीय सञ्चार माध्यमका अनुसार दीपिकाले साढे ६२ हजार भारुको हिल्स पहिरिएकी थिइन् ।

सकुन बत्राको निर्देशनमा बनेको चलचित्र ‘गहराइया’ यही फेब्रुअरी ११ मा रिलिज हुन लागेको छ । यो चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको हो । चलचित्रमा दीपिकाको मुख्य भूमिका रहेको छ । यसैगरी सिद्धान्त चतुर्वेदी, अनन्या पाण्डे, नरसुद्धिन साहलगायतको कलाकारको अभिनय रहेको छ ।

विवाहपछि दीपिकाको यो दोस्रो चलचित्र हो । यसअघि उनले रणवीर सिंहसँग ‘८३’ मा काम गरेकी थिइन् । यस चलचित्रमा रणवीरले सन् १९८३ मा भारतले विश्वकप क्रिकेटको उपाधि जित्दाका कप्तान कपिल देव र दीपिकाले कपिलदेवकी श्रीमती रोमी भाटियाको भूमिका निर्वाह गरेका थिए ।