नेपालमा हरितालिका तीजकाे दिन हिन्दू महिलाहरुले भगवान शिवको व्रत बस्ने गर्छन्।
गाउँ, सहर देशभरका शिवालय तथा मन्दिरहरुमा याे विशेष दिन घुंइचो लाग्ने गर्छ। हरितालिका तीज विशेषगरी नेपालका हिन्दू महिलाहरुले व्रत बसेर मनाउने महत्वपूर्ण चाड हो। यस चाडमा भगवान शिवको व्रत बसी आराधना गरिन्छ। यस दिन मन्दिरमा व्रतालुहरुको घुंइचो लाग्ने गर्दछ।
रातो पहिरन र रातै चुरापोतेमा अधिकांश महिलाहरु सजिनु तीजको विशेषता हो। तीजको व्रतको अर्को विशेषता भनेको गीत र नाचगान हो। तीजको व्रतका बेला नाचेमा पुण्य मिल्ने हाम्राे समाजकाे परम्परागत विश्वास छ।
अहिलेका व्रतालु महिलाहरु मन्दिर परिसर, शिवालयमा वा आफूहरुलाई पायक पर्ने स्थानमा भेला भएर लोकगीत र लोक दोहोरीमा नाचेर रमाइलो गर्नु पनि यो पर्वको अर्को महत्वपूर्ण आकर्षण हो।
यस दिन विभिन्न पेशा व्यवसायमा वा जागीरमा सक्रिय महिलाहरुलाई सार्वजनिक विदा दिने चलन रहेपनि सुरक्षा क्षेत्रमा काम गर्ने कतिपय महिलाहरु भने ड्युटीमै खटिएका हुन्छन्।
तीजको अर्को महत्वपूर्ण पक्ष भनेको श्रृङ्गार, दरिने र आकर्षक आभूषण पहिरन पनि हो। तर यस पर्वको साँस्कृतिक तथा धार्मिक महत्व उजागर गर्नुभन्दा पनि श्रृङ्गार, र आभूषण प्रदर्शन गर्ने पर्वको रुपमा विकसित भैरहेकोप्रति कतिपयले चिन्ता व्यक्त गर्ने गरेको पाईन्छ।
पहिले देवालय, वरपिपल चाैतारा र सार्वजनिक खुला मैदानमा गीत संगीतद्वारा आफ्ना व्यथा र भावना साटासाट गर्ने तीज पर्व आजकाल पार्टी प्यालेस, शपिङ्ग कम्प्लेक्समा केन्द्रीत हुने क्रम बढ्दो छ।
नेपालकाे धार्मिक मान्यता अनुसार भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन्। यसै मान्यता अनुसार हिन्दू महिलाहरुले आआफ्ना श्रीमानको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै व्रत बसेर आन्नद लिन्छन् ।
कार्यविधि संवाददाता । १४ भाद्र २०७९, मंगलवार ०७:५० बजे