भीम प्रसाद शर्मा / सुर्खेत
सबै मान्छे सफल हुन चाहन्छन् । तर सबैमध्येकेही मानिसमात्र सफल बन्छन्। यो किन हुन्छ भने केही मान्छे परिवर्तन हुनै चाहँदैनन्, केही मानिस परिवर्तनप्रति लचक हुन्छन् । जो आफ्नो अहमतालाई पन्छाएर नयाँ कुरा सिक्नतिर लाग्छन्, उनीहरू सफल बन्छन्। सफल हुनु भनेको पैसा कमाउनु मात्र होइन। बरु आफ्नो जिन्दगीप्रति सन्तुष्ट हुनु हो।
पेशाको रोजाइमा पनि मानिसका फरक–फरक इच्छा छन् । कोही जागिरै खान चाँहदैनन् त कोही जागिरकै लागि मरिहत्ते गर्छन् । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने सरकारी जागिरमा बढ्दो आकर्षण छ ।
त्यस्ता व्यक्ति पनि छन्, जो पाइसकेको निजामती जागिर छाडेर शिक्षा क्षेत्रमा आवद्ध भएका छन् । जेहोस् अधिकांश नेपालीको चाहना भने निजामती जागिरमै हुन्छ । निजामती जागिर खाएपछि जिन्दगी बन्यो भन्ने भावना अधिकांश नेपालीको हुन्छ ।
यस्ता बाबुआमा बिरलै होलान्, जसले आफ्नो सन्तानले निजामती सरकारी जागिर खाओस् भन्ने चाहँदैनन् । यति भन्नुको अर्थ चाहिँ हामी यस्तो व्यक्तिको सफलताको कथाबारे चर्चा गर्न खोज्दैछौं, जसले निजामती सरकारी जागिर छाडेर शिक्षा क्षेत्रमा जागिर खाए । तरपनि सफल व्यक्तिको पहिचान बनाएका छन् । उनी हुन् शिक्षक – लोकेन्द्र सुवेदी ।
वर्तमान कालमा सफल शिक्षक मानिने सुर्खेतका लोकेन्द्र सुवेदी वीरेन्द्रनगरको नेवारे गाउँमा जन्मिएका हुन् । वि.सं.२०३७ सालमा श्री अमर ज्योति माध्यामकि विद्यालय नेवारेबाट शिक्षा शुभारम्भ गरेका सुवेदीले ०४७ सालको एस.एल.सी वोर्ड परिक्षामा जिल्ला प्रथम भएर माध्यामकि तहसम्मको अध्ययन सोही विद्यालयबाट पूरा गरेका थिए ।
त्यतिखेर विज्ञान विषय पढ्ने कलेज सुर्खेतमा नभएका कारण उनी काठमाडौं जान बाध्य भए । काठमाडौं पाटन संयुक्त क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट वि.सं. २०५४ सालमा स्नातक तहको अध्ययन पूरा गरे ।
सुवेदीलाई मनपर्ने पेशा भनेको चिकित्सक थियो ।चिकित्सक बन्ने सपना देखेका सुवेदीले स्नातक तहसम्म विज्ञान विषय लिएर पढे तर उतिखेर शिक्षकमा देखिएको प्रतिष्ठाले उनको सपना कुशल शिक्षक बन्नेमा परिवर्तन भयो । चाहे के हुँदैन र ? उनको चाहाना असीमित पनि थिएन ।
जसका कारण उनले अध्ययनरत रहेकै बेला आफ्नो चाहाना पूरा गरे । उनी शिक्षक भए । विद्यार्थीहरुलाई प्राकृतिक सत्यमा आधारित विज्ञान विषय पढाउन सुवेदीले सोही सालदेखि नै सुर्खेतको एक निजी विद्यालबाट शिक्षण सेवा अवलम्बन गर्न थाले ।
अध्यापनकै क्रममा उनी २०६० सालमा शिव मावि लाटीकोइली सुर्खेतमा मावि तहको विज्ञान विषयको अस्थायी शिक्षक भए । नेपालमा एक दशक लामो समयसम्म पनि स्थायी शिक्षकको विज्ञापन हुन सकेको थिएन । एक दिन उनले समाचार अध्ययन गर्ने बेलामा गोरखापत्रमा लोकसेवा आयोगको सूचनामा नायब सुब्बाको विज्ञापन देखेपछि उनले आवेदन दिए । नभन्दै उनको नाम निस्कियो । अनि शुरु भयो, सुवेदीको निजामती सेवा।
वि.सं.२०६१ सालमा खाद्य निरीक्षक पदमा उनको नेपालगञ्ज बाँकेमा पोष्टिङ भयो । लगत्तै गुलरिया बर्दियामा सरुवा भयो, दुई वर्षको अवधिमा । निजामती आकर्षणको सेवा भएपनि उनले यता वि.सं.२०६३ मा स्थायी शिक्षकमा नाम निकाल्न सफल भए ।
उनले आकर्षणले भरिएको निजामती सेवा छाड्ने अठोट कसे । उनले दुई वर्ष निजामती सेवा गरे । शिक्षा क्षेत्रमा जागिर खानकै लागि उनले निजामती जागिर नै छाडे ।
निजामती जागिरमा अझै पनि आकर्षण छ । त्यसबेला त नहुने कुरै भएन । यता शिक्षक सेवाको विज्ञान विषयमा मावि स्थाईमा उनले नाम निकाले । आफूले निजामती जागिर छाड्ने विचार गरेका उनलाई घरपरिवारबाट सल्लाह लिन खोज्दा दाजुले नछोड भने, अन्य सदस्यले आफ्नै विचार गर भने ।
घरपरिवार बाहेक भेटिएका ९० प्रतिशत जतिले सरकारको सिदुर पहिरेको निजामती जागिर छोड्न हुन्न भने । ‘अरुको कुरा सुनेर निणर्य गर्ने भए सायद अहिले म यो स्थानमा आइपुग्दिन थिएँ होला’ उनी भन्छन्।’
निजामती जागिर छाडेर शिक्षकमा करियर
निजामती जागिर खाएपछि भविष्य सुरक्षित बन्यो भन्ने भनाइ समाजमा हुँदाहुँदै पनि उनले जागिर छाडे । निजामती सेवामा आफ्ने क्षमता भरपुर प्रयोग गर्न नपाइने, हाकिम निर्देशित हुनुपर्ने, भ्रष्टाचारको क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न हुनुपर्ने उनकाे भोगाइ रह्याे ।
यता शिक्षण पेशामा क्षमताको अधिकतम प्रयोग गर्न पाइने आफूले पढाएका विद्यार्थीले दिएको माया र सम्मानले धेरै सन्तुष्टि मिल्ने, सिकाइ क्रियाकलाप गराउँदा नयाँ नयाँ कुरा सिकिने र आफ्नो ज्ञान सीप क्षमता बढ्ने,सामाजिक रुपमा धेरै अभिभावकसँग सम्पर्क हुने र काम अनुसारको सम्मान पाइने बुझेका सुवेदी आखिरमा शिक्षण सेवामै फर्किए।
उनको शिक्षक करियर मंसिर वि.स. २०६३ साल मंसिर २४ गते देखि आफूले अध्ययन गरेको माध्यामिक विद्यालयबाटै स्थाई शिक्षकमा शुरु भयाे ।
अहिले पनि उनको मुखमै सोही विद्यालय छ । कहिल्यै बिर्सन सक्दैनन् उनी त्यो समय । त्यही मंसिर २४ देखि नै उनको सफलताको यात्रा शुरु भएको थियो । आज ,उनको शिक्षक करियरको १७ वर्ष पूरा भएको छ ।
कामले काम सिकाउँछ भन्ने विषयमा सुवेदी जानकार छन् । यसकारण पनि उनी आत्तिदैनन् र निरन्तर काम गर्छन् ।
त्यतिमा रोकिएनन् उनी । उनले पेशाप्रतिको इमान्दारिता घटाएका छैनन् । शिक्षण पेशाप्रति सधैं उत्तदायी छन् । जसको फलस्वरुप उनले विद्यालय व्यवस्थापन समितिबाट उत्कृष्ट शिक्षक पुरस्कार, साविक जिल्ला शिक्षा कार्यालयबाट शिक्षक प्रोत्साहन पुरस्कार पाए ।
त्यस्तै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्रदेश स्तरिय शिक्षक प्रोत्साहन पुरस्कार, ब्रिटिस काउन्सिलले राष्ट्रव्यापी पाठयोजना निर्माण प्रतियेगितामा उत्कृष्ट पाँच योजना भित्र पर्न सफल विज्ञान शिक्षक समाज नेपालबाट प्रदेशगत रुपमा प्रदान गरिएको कर्णाली प्रदेशको उत्कृष्ट शिक्षक पुरस्कार लिए ।
विज्ञान तर्फको केमिकल सोसाइटी अफ थाइल्याण्ड र आयुप्याक थाइल्याण्डले राखेको रसायन विज्ञानको क्रियाकलाप निर्माण प्रतियोगितामा नेपालको तर्फबाट उत्कृष्ट १० क्रियाकलापमा निर्माणकर्ता शिक्षकहरुमा छनोट भइ ३ दिने थाइल्याण्ड भ्रमणको अवसर पाएका सुवेदी काम गर्दै गए र सिक्दै पनि । अन्ततः उनी अब्बल सावित भएका छन् । पत्नी सुवेदी भने निजामती क्षेत्रमा आवद्ध छिन् ।
सुवेदी सरको बुझाइमा विद्यालय, अभिभावक र विद्यार्थी
मुलुकको वर्तमान शिक्षाको विषयमा सुवेदीको धारणा सामान्य छ । विद्यालयहरु शिक्षकले पढाउने र विद्यार्थीहरु पढने मात्रै नभइ सत्य असत्य छुट्याउ नसक्ने, स्वनिर्णय गर्न सक्ने, आफ्नो भविष्यको बाटो आफैं तय गर्न सक्ने मानिसहरु उत्पादन गर्ने ठाउँ हो।
विद्यालयहरुले विद्यार्थीलाई सामाजिकीकरण गराउनुको साथै कुनै पनि प्रकारका विभेदहरु गर्नु नहुने र गराउन नहुने भन्ने शिक्षा दिनुपर्छ। एउटा बच्चाको शारिरीक, मानसिक र सामाजिक विकास गराउने सबैभन्दा महत्वपूर्ण ठाउँ भनेकै विद्यालय भएको उनी बताउँछन् ।
अभिभावकहरु शिक्षा विकासमा योगदान गर्ने एउटा टेको हुन्। बालबालिकाहरुका लागि घरमा उचित शैक्षिक वातावरण निर्माण गर्नु र पोषणयुक्त खाना र मायालु वातावरण दिनु अभिभावकको कर्तव्य हो।
अभिभावक बच्चाहरुबीच तुलना गरी कसैलाई राम्रो कसैलाई नराम्रो भनेर विभेद गर्दा बच्चाहरुमा नराम्रो सन्देश जान्छ।
यो प्रवृत्ति हाम्रो समाजमा धेरै देखिन्छ। यस कारण अभिभावक शिक्षालाई पनि जोड दिन जरुरी देखिन्छ। अभिभावकहरुको धारणा सल्लाह सुझावहरु विद्यालयलाई गतिशील बनाइराख्नु पर्ने सुवेदी सरको भनाइ छ ।
विद्यार्थीहरुसँग प्रचुर मात्रामा क्षमता हुन्छ। शिक्षक र विद्यालय सम्वद्ध व्यक्तीहरुबाट त्यो क्षमता चिन्न नसक्दा र उक्त क्षमता प्रयोग गर्नसक्ने वातावरण बनाइदिन नसक्दा नै बच्चाहरु शिक्षाको हिसावले कमजोर हुन पुगिरहेका छन् ।
बच्चाले पढ्दैन, पढ्न सक्दैन वा पढ्न ध्यानै दिँदैन भन्ने गलत भाषा हाम्रो समाजमा निर्माण गरिएको छ।
हामीले बच्चालाई पढाइमा जागरुक बनाउन नसकेको आफ्नै कमजोरी विद्यार्थीहरुमा थोपरिरहेका छौं। विद्यार्थीहरु निष्कलङ्क, सक्षम र सिपयुक्त हुन्छन् भन्ने सुवेदी सरको निश्कर्ष छ ।
कार्यविधि संवाददाता । २४ मंसिर २०७९, शनिबार ०७:४७ बजे