३० चैत्र , सुर्खेत । विशेष कार्यविधि संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे सुर्खेत कार्यालयमा चालू आवको नाै महिना अर्थात् गत साउनदेखि चैत्रसम्म मात्रै ९८२ वटा उजुरी परेको छन् ।
कर्णाली प्रदेशका १० जिल्ला र रुकुम पूर्वबाट आयोगमा ९८२ वटा उजुरी परे । तिमध्ये आयोगले अहिलेसम्म जम्मा ४४८ वटा उजुरी फछ्याैट गरेको छ । उजुरीको गति हेर्दा अषाढ मसान्तभित्र आयोगले थेक्न नसक्ने गरी पर्ने संभावना देखिएकाे आयाेगले जनाएकाे छ ।
आयोगमा सबैभन्दा बढी सुर्खेतबाट २१७ र सबैभन्दा कम रुकुम पूर्वबाट आठवटा उजुरी परेका छन् । दैलेखबाट १५८, जाजरकोटबाट ६१, कालिकोट ८८, जुम्ला ६५, हुम्ला ६८ , सल्यान ६१ , रुकुम पश्चिम ६३, मुगु १३५ र डोल्पाबाट ३२ वटा उजुरी आयोगमा दर्ता भएकाे आयोगकका सुचना अधिकारी भेषराज रिजालले बताएका छन् ।
सुशासन प्रर्वद्धन गर्न र भ्रष्टाचार न्यूनिकरण गर्नका लागि कार्यविधि सँग कुरा गर्दै आयाेगले गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ५४३ उजुरीमध्ये यो वर्षको चैत्रसम्म १५१ वटा उजुरी फछ्याैट भएको जानकारी दिएको छ ।
आयाेगकका अनुसार, नाैं महिनाकाे अवधिमा स्थानिय तह, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विरुद्ध अन्तर्गत सबै भन्दा धेरै ४८३ उजुरी परेका मध्ये २०९ फछयाैट र २७४ बाँकी रहेका छन् । प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयविरुद्ध ४१ उजुरी मध्ये ९ फछयाैट र बाँकी २२ , भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयमा ५२ उजुरी मध्ये २० फछ्याैट ३२ बाँकी , भाैतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत ८३ उजुरी मध्ये २५ फछ्याैट र बाँकी ५८ , स्थानिय तहकाे शिक्षामा १९५ परेका उजुरी मध्ये १०९ फछयाैट र ८६ बाँकी रहेका हुन् ।
त्यस्तै, सामाजिक विकास मन्त्रालय अन्तर्गत २३ परेका उजुरी मध्ये १२ फछ्याैट र बाँकी ११ टुंगाे लाग्न बाँकी रहेका छन् भने गत र चालू आर्थिक वर्षकाे हालसम्म विस्तृत अनुसन्धान तर्फका १ सय ७६ उजुरी रहेका छन् ।
उपसचिव भेषराज रिजालले विशेष गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको क्षेत्रमा सबैभन्दा बढी उजुरी पर्ने गरेको बताए । उनले भौतिक संरचना निर्माण तथा अन्य विकास निर्माणका काम स्टिमेटअनुसार नभएको वा गुणस्तरहीन र अनियमितता भएको, छात्रवृत्ति, सामाजिक सुरक्षाभत्ता दुरुपयोग, शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता, औषधि खरिद, वितरणमा अनियमितता, टेण्डर प्रक्रियामा मिलोमतो र नक्कली बिलभर्पाइ बनाई सरकारी रकम हिनामिना गरेको लगायतका विषयमा उजुरी परेका छन् ।
कार्यविधि संवाददाता । ३० चैत्र २०७९, बिहीबार १०:१९ बजे