सन्दीप लामिछाने आज बिहान १० बजे फर्किने, एयरपोर्टबाटै प्रहरी जिम्मामा

नाबालिक माथि बलात्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने बिहीबार नेपाल आउँदै छन् ।

उनले आफू बिहान १० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण हुने र प्रहरी समक्ष आत्मसमर्पण गर्ने बताएका छन् । उनी कतार एअरवेजको विमान मार्फत नेपाल आउन लागेका हुन् ।

विमानस्थलमै आफूले आत्मसमर्पण गर्ने र त्यस क्रममा आफ्ना कानून व्यवसायीको उपस्थितिका लागि अनुमति दिन उनले आग्रह गरेका थिए ।

यस्तै उनले आफूलाई विमानस्थलबाट प्रहरी कार्यालय लैजाँदा विना हथकडी लैजान पनि आग्रह गरेका छन् । सन्दीपले आफू निर्दोष रहेको र न्याय पाउनेमा विश्वास भएको पनि जनाएका छन् । अनुसन्धानमा सहयोग गर्ने उनले उल्लेख गरेका छन् ।

सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा सन्दीप ट्वान्टी–२० क्रिकेट खेल्न क्यारेबियन प्रिमियर लिग खेल्न जमैका भएकै बेला भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।