सुर्खेत । विशेष कार्यविधि संवाददाता
गर्मियाम शुरु भएसँगै सुर्खेतका छ वटा स्थानीय तहका १७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १ सय ६७ हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ ।
वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । हावाहुरीको मौसम शुरु भएसँगै सदरमुकाम वीरेन्द्रनगर तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेकाे डिभिजन वन कार्यालय वीरेन्द्रनगरले जनाएकाे छ ।
सामुदायिक वनमा करिब १६७ हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको कार्यालयकाे तथ्याङ्कले देखाउँछ ।
शुरुवात गत चैत्र ३० देखि वीनपा-१६ काे साउनेपानी सामुदायिक वनकाे ५ हेक्टर जङ्गल आगलागीबाट सखाप भयो । साथै १७ सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ३५ सुरक्षाकर्मी स्थानीयवासी परिचालन गर्यो ।स्थानीयवासी र सुरक्षाकर्मी खटिए केही वनकाे आगाे निभाए पनि आगो निभाउन वर्षात भएरै सहज भयाे । आगलागीबाट सो वनका बहुमूल्य जडीबुटी, जङ्गली जनावर र वन पैदावार नष्ट भएका एक स्थानिय श्याम ढकालले बताए ।
वीरेन्द्रनगर नगरपालिकाकाे सँक्तेकाँडा, नाैलाेसुधार, बाउन्नेचाैर, सल्लेरी , जनचेतना, सानाेसुर्खेत, कालिका, सिद्धसल्लेरी, कृष्ण , काँक्रेबिहार, शिवबिहार र देउती बज्यै सामुदायिक वनमा आगलागी हुँदा करिब ११० हेक्टर जङ्गलमा क्षति पुगेको थियाे । भने भेरीगंगा नगरपालिकाकाे साजगाेठेरी, रामजानकी ,आदर्श र खारखाेली सामुदायिक वनमा आगलागी हुँदा करिब ५१ हेक्टर जङ्गलमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ ।
भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ ।
सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि सुर्खेतका सामुदायिक वनमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जङ्गलमा आगो लगाउने गरिएको कार्यालयका सूचना अधिकारी एवंम सहायक वन अधिकृत सूर्यप्रसाद शर्माले बताए ।
“यस वर्ष सुर्खेतमा आगलागीबाट धेरै क्षति भयो, मानवीय लापरवाहीले आगलागी हुने गरेको छ”, शर्माले भने । उनका अनुसार मानवीय कारणबाट लगाउने गरिएको डढेलोको असर लामो समयसम्म हुने भएकाले घाँसको लोभमा प्राकृतिक स्रोतसाधनको नष्ट गर्ने गरिएको छ ।
डढेलो नियन्त्रणका लागि कार्यालयले आगाे लगाउनेलाई कानूनी दायरामा ल्याउने , विभिन्न उपकरणसहितको साम्रगी व्यवस्थापन, जनशक्ति परिचालनलगायतका गतिविधि गर्ने गरेको छ । भौगोलिक विकटता र स्रोतसाधन अभावमा डढेलो तथा आगो नियन्त्रण गर्न कठिन भएकाले सुरक्षा निकायलाई समेत उपकरण सहयोगसहित नियन्त्रणमा पुग्न लाग्ने खर्चसमेत कार्यालयबाटै व्यवस्थापन गर्न आगामी वर्ष थप बजेट माग गरिएको अधिकारी शर्माले बताए ।
सामुदायिक वनमा आगलागी भएपछि वातावरणीय प्रदूषण बढेको छ । आगलागीबाट एकातिर वनजङ्गल, जङ्गली जनावर र जडीबुटी नष्ट भएका छन् भने अर्कातिर मानव स्वास्थ्यमा समेत गम्भीर असर परेको डिभिजन वन कार्यालय वीरेन्द्रनगरका प्रमुख मुनबहादुर रावतले बताए छन् ।
कार्यविधि संवाददाता । १५ बैशाख २०८०, शुक्रबार १९:४९ बजे