ई-सेवाको कर्मचारी हुँ भनेर १५ लाख ठगी गर्ने पाँच जना पक्राउ

आफूलाई ईसेवाको कर्मचारी बताएर १८ जना सेवाग्राहीसँग १५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौर–५ का २६ वर्षीय नवनितकुमार कुशवाहा, २१ वर्षीय कन्हैयाकुमार कुशवाहा, २१ वर्षीय रितेश कुशवाहा र २० वर्षीय अभयकुमार यादव छन् । त्यस्तै, रौतहटकै गढिमाई-६ का १९ वर्षीय दीपेन्द्रकुमार यादवलाई पनि पक्राउ गरिएको  काठमाडौँ  उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रहरीका अनुसार पीडितहरूलाई विश्वासमा पारेर उनीहरूले ओटीपी माग्दै खाताको पैसाको झिकेका हुन् । १८ जनाको खाताबाट १५ लाख २० हजार ९०१ रुपैयाँ झिकिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

आरोपीले पीडितहरुसँग ईसेवा आईडी बैंक खातासँग लिङ्क अप गर्ने, खाता नवीकरण गर्ने, केवाईसी अपडेट गर्नेजस्ता बहाना बनाएर खातासम्म पहुँच राख्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरिएको हो।  पाँचै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसपी रेग्मीले जानकारी दिए।