नेपालमा १० जनामा हैजा सङ्क्रमण

मुलकभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले  जनाएको छ ।

सङ्क्रमण पुष्टि हुने जिल्लामा ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए।

उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने,  ‘हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ।हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भने, ‘हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ।’

हैजा सङ्क्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरु देखा पर्छन् । हैजा सङ्क्रमण भयो र उपचार पाएन भने केही घण्टामै सङ्क्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन् ।