अज्ञात समूहले भत्काएको विद्यालय पुग्ने अस्थायी पुल सोही विद्यालयका पूर्व विद्यार्थीहरुले निर्माण गरेका छन् । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ६ स्थित श्री ठर्की माध्यमिक विद्यालयमा पुग्ने बाटोमा निर्माण गरिएको अस्थायी पुल गत मंगलबार अज्ञात समूहले भत्काएको विद्यालय प्रशासनले जनाएकाे छ ।
पुल भत्किएपछि विद्यार्थीहरुले सास्ती खेप्नुपरेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि उक्त विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले संयुक्त लगानीमा अस्थायी काठको पुल निर्माण गरेको विद्यालयका प्रधानाध्यापक बलिराम यादवले बताए ।
प्रअ यादवले भने, ‘पुल निर्माण गर्ने विद्यार्थीहरुको नाम खुल्न सकेको छैन । नाम जानकारी पाएपछि उहाँहरुलाई सम्मान गर्नेछु ।’
पुल भत्काउने कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय मझगाँवामा उजुरी दिएको प्रअ यादवले कार्यविधिलाई जानकारी दिए ।
पुल निर्माणपछि विद्यालय पुग्न सहज भएको कक्षा १० मा अध्ययनरत विद्यार्थी गुलाब खटिकले बताए ।
उनले भने, ‘काठको अस्थायी पुल भए पनि विद्यालय पुग्न खासै समस्या छैन । पहिला विद्यालय पुग्ने समय र छुट्टीको समय निकै भीड हुने गर्दथ्यो ।’
कार्यविधि संवाददाता । २२ भाद्र २०८१, आईतवार २१:१६ बजे