नेपालको कर नीति
१. नेपालले अवलम्बन गरेको कर नीतिका विशेषताहरू के के हुन् ? लेख्नुहोस् ।
कर नीतिले करको दर, दायरा, कर प्रशासन, कर सङ्कलन गर्ने प्रक्रिया, कर चुहावट नियन्त्रण, करको सदुपयोग आदिजस्ता विषयलाई समेट्दछ । नेपालले अवलम्बन गरेको कर नीतिका विशेषताहरू पनि यही विषयसँग सम्बन्धित छन् । नेपालमा कर नीतिको छुट्टै दस्तावेज छैन । आवधिक योजना र वार्षिक बजेटले नेपालको कर नीतिलाई निर्देशित गरेको पाइन्छ । नेपालको कर नीतिका विशेषतालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
– करको दर नबढाई दायरा विस्तारमा जोड,
– करको माध्यमबाट लगानीमैत्री वातावरण निर्माणमा जोड,
– करका नयाँ क्षेत्रको पहिचान गरी दायरा विस्तारमा जोड,
– राजस्व चुहावट, विदेशी विनिमय अपचलन एवं सम्पत्ति शुद्धीकरणका क्षेत्रको पहिचान गरी चुहावट नियन्त्रणमा जोड,
– कर प्रशासनलाई स्वच्छ, सरल, पारदर्शी, दक्ष एवं प्रविधियुक्त बनाई करदातामैत्री कर प्रशासनको अवधारणा लागू,
– कर सहुलियत एवं सुविधामा वृद्धि,
– स्वयंकर निर्धारण पद्धतिको अवलम्बन, आयकर र मूल्य अभिवृद्धि करमा स्वयंकर निर्धारण, भन्सारमा स्वयं घोषणा, अन्तःशुल्कमा मदिराजन्य वस्तुबाहेक अरू वस्तुमा स्वयं निष्कासन प्रणाली,
– आय आर्जनका सबै क्रियाकलापलाई आयकरको
दायरामा ल्याइएको,
– अन्तःशुल्कलाई आन्तरिक राजस्वको आधार व्यापक गर्न
उपयोग गरिएको,
– मूल्य अभिवृद्धि करलाई राजस्वको प्रमुख स्रोतका रूपमा
विकास गरिएको,
– करको माध्यमबाट सामाजिक न्याय कायम गर्न जोड,
– लेखामा आधारित कर प्रणालीको अवलम्बन,
– राजस्व प्रशासनलाई स्वायत्त र प्रभावकारी बनाउन केन्द्रीय राजस्व बोर्ड गठन गरिने प्रतिबद्धता,
– नयाँ–नयाँ कार्यक्रमको घोषणा, आयको स्वयं घोषणा, कर सहभागिता वर्ष, कर कार्यान्वयन अभियान वर्ष, कर प्रणाली सुधार वर्ष, मङ्सिर १ गतेलाई राष्ट्रिय कर दिवसलगायतका कार्यक्रम,
– कर सदुपयोगको प्रत्याभूतिमा जोड,
– विदेशी लगानी बढाउन विभिन्न देशसँग दोहोरो करमुक्ति
सम्झौता गरिएको ।
२. योजना तर्जुमाका आधारहरू के के हुन् ?
योजना तर्जुमाका आधारहरू निम्न छन् ः
– राज्यका निर्देशक सिद्धान्त र नीतिहरू,
– राष्ट्रको सामाजिक आर्थिक अवस्था,
– जनताका माग, अपेक्षा र आधारभूत आवश्यकता,
– साधनस्रोतको अवस्था,
– विगत योजनाको उपलब्धि,
– राष्ट्रिय उत्पादन र आयको स्थिति,
– राष्ट्रले बाह्य मञ्चमा गरेको प्रतिबद्धता,
– राष्ट्रका प्राथमिकताप्राप्त विषयहरू ।
३. बसाइँसराइको अर्थ र प्रकारबारे जानकारी गराउनुहोस् ।
मानिस आफु बसेको गाउँ, ठाउँ वा देश छोडेर अर्को गाउँ, ठाउँ वा देशमा सर्ने कार्य बसाइँसराइ हो । मानिसहरू सामान्यतः सुविधाका लागि बसाइँ सर्दछन् । बसाइँसराइ एक निरन्तर प्रक्रिया भएकाले यसलाई पूर्णविराम लगाई रोक्न सकिँदैन तर व्यवस्थित नियन्त्रण गर्न सकिन्छ । यसलाई व्यवस्थित नियन्त्रण गर्न बसाइँसराइको उद्गम र गन्तव्य दुवै स्थानमा विकासका विशेष कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।
बसाइँसराइका प्रकार
– बसाइँसराइलाई विभिन्न आधारमा वर्गीकरण गरेको पाइन्छ । बसाइँसराइ सामान्यतया निम्न प्रकारका हुन्छन् ः
(क) समयको आधारमा
१. स्थायी बसाइँसराइ
– १० वर्ष वा सोभन्दा बढीका लागि बसाइँसराइ हुने ।
२. अस्थायी बसाइँसराइ
– ५ वर्षदेखि १० वर्षको अवधिसम्म बसाइँसराइ हुने, पुरानो स्थानसँगको सम्पर्क कहिलेकाहीँ रहिरहन सक्दछ ।
३. मौसमी बसाइँसराइ
– जाडो वा गर्मी छल्न सामान्यतया छ महिनासम्मका लागि बसाइँसराइ हुने, जन्मथलोको सम्बन्ध रहिरहने हुन्छ । हिमाली क्षेत्रका बासिन्दाले जाडो छल्न यस्तो बसाइँसराइ गर्दछन् ।
(ख) स्थानको आधारमा
१. आन्तरिक बसाइँसराइ
– देशभित्र हुने बसाइँसराइ, यस्तो बसाइँसराइ सामान्यतया निम्न प्रकारको हुन्छ ः
– हिमाल÷पहाडबाट तराईमा
– गाउँबाट सहरमा
– सहरबाट गाउँमा
२. अन्तर्राष्ट्रिय बसाइँसराइ
– एक मुलुकबाट अर्को मुलुकमा हुने बसाइँसराइ अन्तर्राष्ट्रिय बसाइँसराइ हो । यस्तो बसाइँसराइ निम्नानुसार दुई प्रकारको हुन्छ ः
– आप्रवास ः एक मुलुकमा अर्को मुलुकको मानिस बसाइँ सरेर आउने कार्य आप्रवास हो । जस्तै ः भारतीय नागरिक नेपालमा बसाइँसराइ गरी आएमा उनीहरू आप्रवासी हुन्छन् ।
– प्रवास ः आफ्नो मुलुक छाडेर अर्को मुलुकमा बसाइँ सर्ने कार्य प्रवास हो । जस्तै ः नेपाली नागरिक भारतमा बसाइँसराइ गरी गएमा उनीहरू प्रवासी हुन्छन् ।
४. फोहोरमैला व्यवस्थापनका उपायहरू के के हुन् ? चर्चा गर्नुहोस् ।
फोहोरमैला व्यवस्थापनका लागि निम्नलिखित उपायहरू अपनाउनुपर्छ ः
क) फोहोरमैलाको कम उत्पादन गर्ने ः निम्नलिखित उपायहरूका माध्यमबाट फोहोरमैलाको उत्पादन कम गर्न सकिन्छ ः
– वर्गीकरण ः फोहोरमैला निस्केको स्थानमा नै यिनीहरूलाई कुहिने, नकुहिने र धातुगत आदिको समूहमा वर्गीकरण गरी सङ्कलन गर्ने व्यवस्था मिलाउनुपर्छ ।
– पुनप्र्रयोग ः पुनर्प्रयोगमा ल्याउन सकिने वस्तुहरूलाई प्रशोधन गरी प्रयोगमा ल्याउनुपर्दछ ।
– पुनर्चक्रण ः बिग्रेको प्लास्टिक तथा पोलिथिनका सामानहरूलाई सङ्कलन गरी कच्चा पदार्थका रूपमा प्रयोगमा ल्याउने गर्नुपर्छ । यस्ता वस्तुबाट पुनः उपयोगी सामानहरू उत्पादन गर्न सकिन्छ ।
ख) फोहोरमैला सङ्कलन गर्ने ः फोहोरमैलाको व्यवस्थापन गर्न फोहोरमैलाको सङ्कलन, स्थानान्तरण र प्रबन्ध व्यवस्थित किसिमबाट गर्ने प्रक्रिया अपनाउनुपर्दछ ।
ग) प्राङ्गारिक मल निर्माण गर्ने ः गाईवस्तुको मलमूत्र र जैविक फोहोरमैला मिसाई प्राङ्गारिक मल बनाउनुपर्दछ । यस्तो मल खेतीबालीका लागि निकै उत्तम हुन्छ ।
५. खाद्य सम्प्रभुताका सिद्धान्त के के हुन् ? लेख्नुहोस् ।
खाद्य सम्प्रभुताको शब्दावली सर्वप्रथम सन् १९९६ मा भिया क्याम्पेसिनाका सदस्यहरूले प्रयोग गरेका थिए । भिया क्याम्पेसिना पारिवारिक खेतीमा आधारित दिगो कृषिका पक्षमा लाग्ने एसिया, युरोप, अमेरिका र अफ्रिकाका १४८ साना तथा मझौला किसान सङ्गठनहरूको सञ्जाल हो । यस संस्थाले सन् १९९९ देखि बजार निर्देशित कृषि सुधारका विरुद्ध विश्वव्यापी कृषि सुधारको आन्दोलन जारी राखेको छ । स्पेनी भाषाको शब्दावली भिया क्याम्पेसिनाको अर्थ हुन्छ ः किसानको बाटो । सो सङ्गठनले आदिवासी, किसान, माछापालक, गाउँवासी, ग्रामीण युवा तथा वातावरणविद्को चासोका विषयमा खाद्य सम्प्रभुतासम्बन्धी सात सिद्धान्त निर्धारण गरेको छ, जुन यस प्रकार छन् ः
क) खाना मानिसको आधारभूत आवश्यकता ः
– प्रत्येक मानिसले पूर्ण मर्यादासहित पर्याप्त गुणस्तर र परिमाणमा सफा, पोषणयुक्त तथा सांस्कृतिक रूपमा उपयुक्त खाना
खान पाउनुपर्दछ ।
ख) कृषि सुधार ः
– जग्गाविहीन र खेती गर्ने मानिस खासगरी महिलालाई भूमिअधिकार स्थापित गर्ने खालको भूमिसुधार आवश्यक छ ।
ग) प्राकृतिक स्रोतको संरक्षण ः
– खाद्य सम्प्रभुताले जमिन, जल, बीउजस्ता प्राकृतिक स्रोतको संरक्षणलाई समावेश गर्दछ ।
घ) खाद्य व्यापारको पुनर्संगठन ः
– खाना पहिले पोषणको स्रोत हो र अनि मात्र व्यापारको वस्तु । यसर्थ खाद्यान्नको स्थानीय उत्पादनलाई यसको आयातले प्रभाव पार्नु हुँदैन ।
ङ) भोकमरीको विश्वव्यापीकरणको अन्त्य ः
– बहुराष्ट्रिय कम्पनी तथा संस्थाले खाद्यान्नको सम्प्रभुता तथा गरिमालाई घटाइदिएका छन् । यसर्थ आकर्षक तर घातक पुँजीको नियमन, नियन्त्रण तथा तिनलाई नियन्त्रण गर्ने कडा आचारसंहिताको आवश्यकता छ ।
च) सामाजिक शान्ति ः
– प्रत्येक मानिसिलाई हिंसाबाट मुक्त रहने हक छ । खानालाई कुनै हतियार बनाउन पाइँदैन र आदिवासी किसानमाथि जातिवाद
लाद्न पाइँदैन ।
छ) प्रजातान्त्रिक नियन्त्रण ः
– हरेक तहका कृषि नीतिको तर्जुमामा सबै साना किसानको प्रत्यक्ष पहुँच सुनिश्चित हुनुपर्दछ ।
६. राउटे जातिको छोटो परिचय दिनुहोस् ।
घना जङ्गलमा फिरन्ते जाति, एक ठाउँमा दुई महिनाभन्दा बढी नबस्ने, स्थायी बसोबास नभएको जाति,
– दाङ, सल्यान, जाजरकोट, सुर्खेत र कालीकोट जिल्लामा बसोबास,
– अत्यन्त पिछडिएको अल्पसङ्ख्यक जाति,
– खेतीपाती नगर्ने, बाँदरको सिकार गर्ने, जङ्गली कन्दमूल खाई जीवन गुजारा गर्ने,
– मानिस मरेपछि लासलाई बाँदर मार्ने जालले बेरेर गाड्ने चलन,
– राउत र साउत गरी दुई थर,
– राउटेको नाइकेलाई मानबहादुर भनिने,
– प्रकृति पूजा गर्ने,
– खाम्ची भाषा बोल्ने,
– हाडनातामा पनि विवाह गर्ने चलन,
– पिछडिएको यो जाति क्रमशः लोप हुँदै गएकोले संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ ।
७. नेपालमा वैदेशिक व्यापारको महìव उल्लेख गर्नुहोस् ।
नेपाल एक भूपरिवेष्टित, अल्पविकसित र कृषिप्रधान देश हो । यो देश बिस्तारै औद्योगीकरणतिर पनि उन्मुख हुँदै छ । विभिन्न प्राकृतिक सम्पदामा धनी हुँदाहुँदै पनि यसको भू–धरातलीय अवस्थिति एवं आर्थिक अवस्थाका कारणले सबै उपभोग्य वस्तुका लागि आत्मनिर्भर हुन सक्दैन । उदाहरणका लागि यसको आफ्नो समुद्र र तेलखानी छैन । नुन र तेलजस्ता अति आवश्यक वस्तुहरू अन्य मुलुकबाट आयात गर्नुपर्छ । आधुनिक व्यापारको सिद्धान्तअनुसार कुनै एक देशले सम्पूर्ण वस्तुको उत्पादन नगरी सीमित वस्तुको उत्पादनमा विशिष्टता हासिल गरी नाफा कमाउने प्रयास गर्दछ । नेपालमा पाइने कच्चापदार्थ र उत्पादित कृषिजन्य वस्तुको निर्यात एवं अन्य दैनिक उपभोग्य वस्तु तथा विलासिताका वस्तुको आयातका लागि अन्तर्राष्ट्रिय व्यापार अनिवार्य छ । हाल नेपालको व्यापार घाटा चर्को छ । व्यापार सन्तुलन आफ्नो पक्षमा ल्याउनका लागि पनि वैदेशिक व्यापारलाई विस्तार गर्नु जरुरी छ । विश्व बजारको अभ्यास भइरहेको अवस्था र नेपाल विश्व व्यापार सङ्गठनमा प्रवेश गरिसकेकाले पनि वैदेशिक व्यापारको अनिवार्य आवश्यकता भएको हो । नेपालमा वैदेशिक व्यापारको महìवलाई बुँदागत रूपमा निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
– आयात निर्यातमार्फत देशको आर्थिक विकासमा सहयोग पुग्ने,
– आर्थिक सङ्कट हुनबाट बच्न सकिने,
– व्यापारमा हुन सक्ने एकाधिकार अन्त्य हुने,
– आफ्नो देशमा उत्पादन हुन नसक्ने वस्तुहरूको सहज आपूर्ति हुने, जस्तै ः नुन, सुन, पेट्रोलियम पदार्थ आदि ।
– उत्पादन प्रविधिमा सुधार गर्न सकिने,
– विदेशी पुँजी, प्रविधि प्राप्त गर्न सकिने,
– लगानीका लागि अनुकूल वातावरण तयार गर्न सकिने,
– अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न सकिने,
– विश्व अर्थतन्त्रसँग आबद्ध हुन सकिने ।
८. नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्या के के हुन् ? लेख्नुहोस् ।
पर्यटनका लागि प्रमुख गन्तव्यस्थलका रूपमा अन्तर्राष्ट्रिय जगत्मा परिचित हुँदाहुँदै पनि नेपालको पर्यटन क्षेत्र देहायमा उल्लिखित विभिन्न समस्याले गर्दा राम्ररी फस्टाउन सकेको छैन ः
– शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नहुनु,
– पर्यटन पूर्वाधारहरूको समुचित विकास नहुनु,
– पर्यटकको उचित सुरक्षाको अभाव,
– पर्यटकीय क्षेत्रमा वातावरणीय प्रदूषणको समस्या,
– प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको उचित संरक्षणको अभाव,
– भरपर्दाे हवाई यातायातको अभाव,
– होटल र आवाससम्बन्धी समस्या,
– यातायात र सञ्चारसम्बन्धी समस्या,
– बन्द, हड्ताल, आन्दोलन, चक्कजाम,
– आन्तरिक एवं ग्रामीण पर्यटनको विकास हुन नसक्नु,
– सरकार तथा निजी क्षेत्रबीच उचित समन्वयको अभाव,
– नयाँ पर्यटकीय क्षेत्रको पहिचान तथा विकास हुन नसक्नु,
– राजनीतिक अस्थिरता,
– उचित पदयात्रा र पथप्रदर्शकको अभाव,
– सक्षम, सुदृढ, प्रभावकारी एवं गतिशील पर्यटनसम्बन्धी व्यवस्थापनको अभाव ।
प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा/गोरखापत्रअनलाइनबाट
कार्यविधि संवाददाता । ४ मंसिर २०७८, शनिबार ०९:५१ बजे