८ दिन सडक बन्द

सल्यान — सदरमुकाम खलंगा हुँदै कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने सडक आठ दिनका लागि बन्द गरिएको छ । सडक स्तरोन्नतिको काम भइरहेकाले खलंगा–बाबियाचौर–बालुवासंग्रही सडक बिहीबारदेखि आठ दिनका लागि बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरी सडक बन्द भएको जनाएको छ । सडक बन्द भएपछि बन्गाडकुपिन्डे नगरपालिकासहित पश्चिम क्षेत्रका बासिन्दालाई सुर्खेत र नेपालगन्ज जान समस्या भएको छ ।

स्थानीय घण्टौं पैदल हिँडेर गन्तव्यमा जान बाध्य छन् । सडक स्तरोन्नतिको काममा अवरोध हुने भएपछि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले बताए । उनका अनुसार सडकमा स्तर वृद्धि र डबल कटिङको काम धमाधम भइरहेको छ ।

उनले सुर्खेत जानका लागि कालीमाटी हुँदै वैकल्पिक मार्गको व्यवस्था गरिएको जानकारी दिए । उक्त सडकमा गत वर्षदेखि स्तरोन्नतिको काम थालिएको थियो । पूर्वाधार विकास कार्यालयका अनुसार सडक निर्माणका लागि १८ करोड रुपैयाँ विनियोजन गरिएको छ । सडक निर्माणको जिम्मा गाल्वा निर्माण सेवाले लिएको कार्यालयले जनाएको छ ।