अविरल वर्षाले विभिन्न राजमार्गहरूमा गएको पहिरो तथा बाढीका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकाहरू पूर्ण रूपमा बन्द गरिएका छन् ।
यात्रामा जोखिम बढेपछि सुरक्षा र सतर्कतालाई ध्यानमा राख्दै नागढुंगा, साँगा र फर्पिङ हुँदै चल्ने लामो दुरीका सवारी साधनहरूको आवागमनमा रोक लगाइएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी साधनहरूलाई विभिन्न बसपार्क तथा होल्डिङ क्षेत्रमै रोकिएको छ ।
वर्षाका कारण गए रातिदेखि नै रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो भने जोखिम कायमै रहेकाले आज बिहानदेखि दिवाकालीन सवारी साधनहरूलाई समेत छाडिएको छैन ।
यतिबेला नागढुंगा–मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी साधन गुड्न पूर्ण रोक लगाइएको छ । चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेका कारण सडक आवतजावत पूर्ण रूपमा अवरुद्ध बनेको हो । यसैगरी बीपी राजमार्गको रोशी खोलामा पानीको बहाव उच्च रूपमा बढेको र मङ्गलटारमा लेदोसहितको पहिरो गएकाले सो मार्ग हुँदै गरिने यात्रामा पनि रोक लगाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका अधिकारीले बताएका छन् ।


कार्यविधि संवाददाता । ३० असार २०८३, मंगलवार ०९:२१ बजे