काँक्रेविहारलाई विश्वस्तरीय पर्यटन केन्द्र बनाउन सुझाव

सुर्खेत ।  सुर्खेतस्थित ऐतिहासिक काँक्रेविहारलाई संरक्षण गर्दै विश्वस्तरीय बौद्ध, सांस्कृतिक तथा धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । पुरातात्त्विक, धार्मिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिने काँक्रेविहारको दीर्घकालीन संरक्षणसँगै आधुनिक व्यवस्थापन अपनाउन सके यसलाई अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनाउन सकिने धारणा व्यक्त गरिएको हो । काँक्रेविहारको अध्ययन तथा अवलोकनका क्रममा यसको ऐतिहासिक महत्व, धार्मिक मूल्य र पर्यटन सम्भावनाबारे गरिएको छलफलपछि यस क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन अवधारणा सार्वजनिक गरिएको छ ।

अध्ययन टोलीका अनुसार काँक्रेविहार केवल पुरातात्त्विक अवशेषमा सीमित नभई नेपालको बौद्ध सभ्यता, सांस्कृतिक सम्पदा र आध्यात्मिक पर्यटनको महत्वपूर्ण धरोहरका रूपमा विकास हुनसक्ने क्षमता बोकेको स्थल हो । अवधारणामा काँक्रेविहारलाई वैज्ञानिक रूपमा संरक्षण गरिएको पुरातात्त्विक पार्क, अन्तर्राष्ट्रिय ध्यान केन्द्र, बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्र र विश्वस्तरीय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

आधुनिक सूचना केन्द्र, डिजिटल प्रविधिमार्फत इतिहासको प्रस्तुति, ध्यान स्थल, पुस्तकालय, हरित उद्यान तथा पर्यावरणमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने सुझाव पनि दिइएको छ । यसका साथै स्थानीय समुदायलाई पर्यटन, हस्तकला, सांस्कृतिक कार्यक्रम तथा सेवा व्यवसायसँग जोडेर आर्थिक रूपमा सबल बनाउने योजनालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ । काँक्रेविहारलाई युनेस्को विश्वसम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक पहल गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार बढाउनुपर्ने धारणा पनि प्रस्तुत गरिएको छ ।

अध्ययन टोलीले सरकारी निकाय, स्थानीय समुदाय, पुरातत्त्वविद्, अन्तर्राष्ट्रिय संस्था र निजी क्षेत्रबीच सहकार्य हुन सके काँक्रेविहारलाई दक्षिण एसियाकै प्रमुख बौद्ध तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरेको छ । उनीहरूका अनुसार संरक्षण, पर्यटन प्रवर्द्धन, वातावरणीय सन्तुलन र स्थानीय सहभागितालाई एकसाथ अघि बढाउन सके काँक्रेविहारले नेपालको पर्यटन तथा सांस्कृतिक क्षेत्रमा नयाँ पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।