झापामा एक महिलाको कम्मरमाथि र मुनी काटेर शरीरबाट छुट्याएको अवस्थाको शव फेला परेको घटनामा संलम्न भएको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षिय ऐतवार सोरेन, झापा गा.पा. वडा नं. १ बस्ने वर्ष ३७ को लखन टुडु सतार, झापा १ कै वर्ष ५६ को सिरी साइला भनिने सोमाई हेमरम सतार र झापा १ कै वर्ष २७ को श्री हेमरम सतार रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले बताएकाे छ ।
जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता राकेश थापाका अनुशार घटनामा संलग्न ठानिएका एक जना फरार रहेको छन् । फरार रहनेमा भारत बिहार किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने मण्डल हेमरम (सतार) देवर हुन्।
गत भदौ २५ गते झापा गा.पा. १ सानोमाई खोलामा नामथर वतन नखुलेको महिलाको टाउको,घाटी,पेट (कम्मर भन्दा माथीको भाग) तथा घुँडा भन्दा मुनीको भाग नभएको अवस्थामा शव फेला परेको थियो।
अनुसन्धानको क्रममा बुझ्दा नेपाली तथा भारतीय विभिन्न मानिसहरु मिलेर ती महिलाको हत्या गरेको ठहरिएको जिल्ला प्रहरीले जनाएको छ।
अनुसन्धानपछि मृतक महिला झापा गा.पा. वडा नं. १ माइती घर भइ भारत बिहार किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने डोली भनिने धोन्नी टुडु रहेकी प्रहरीको भनाइ छ।
प्रवक्ता थापाले भने, ‘उनी र उनको परिवारमा जग्गाको लेनदेनको विवाद पनि रहेको पाइएको छ। मृतक र उनको देवरबीच उक्त विवाद रहेको देखिएको छ।’
पक्राउ परेकाहरू उनकै परिवार भित्रका माइती गाउँका मानिसहरू रहेका छन्। घटनामा प्रत्यक्ष संलग्न रहेका मृतकका भाञ्जा र सौताको भाइ पनि रहेका छन्। घटना थाह पाएर लुकाउन खोज्नेहरू पनि प्रहरीको फन्दामा परेका छन्।
मृतक महिलाको बाल बच्चा नभएको र सौताका नातेदारले षड्यन्त्र गरि उनको हत्या गराएको प्रहरीको आशंका छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कार्यविधि संवाददाता । ६ आश्विन २०७८, बुधबार १७:१४ बजे