भारतीय सिनेमाका सुपरस्टारको कुरा गर्ने हो भने सबैभन्दा अगाडि आउने नाम हो, रजनीकान्त । आफ्नो करिअरमा उनले एक्सन, इमोशन, ड्रामा हरेक रोलबाट दर्शकको मन जितेका छन् । उनलाई दक्षिण भारतमा ‘भगवान’ मानिन्छ । भारतका केही स्थानमा उनको प्रतिमा राखेर मन्दिर समेत बनेका छन् । तर, उनलाई यो स्टारडमसम्म पुर्याउने व्यक्ति को हो तपाईंहरुलाई थाहा छ ?
उनको कलाकार बन्ने सपना पूरा गर्न उनलाई साथी राज बहादुरले धेरै सहयोग गरेका थिए । उनैले मद्रास फिल्म इन्टिच्युटमा भर्ना हुन हौसला दिए । फिल्मी करिअर सुरु गर्नुभन्दा अगाडि रजनीकान्तले बसको कन्डक्टर भएर आफ्नो जेनतेन गुजरा चलाउँथे । त्यही बसको ड्राइभर थिए, राज बहादुर । आज राजनीकान्त जुन उचाइँमा छन्, त्यसको पछाडि राज बहादुरको ठूलो हात छ ।
हालै नेशनल फिल्म अवार्डमा दादासाहेब फाल्के अवार्डबाट सम्मानित भएका रजनीकान्तले यो अवार्ड उनै साथी राज बहादुरलाई समर्पित गरे । त्यसबेला उनले साथीसँगका केही यस्ता याद सुनाएका थिए, जसले अवार्ड समारोहमा सबैको आँखा रसाएका थिए । राज बहादुरले नै सबैभन्दा पहिला आफूभित्रको कलाकार चिनेको र फिल्ममा जान साथ र हौसला दिएको रजनीकान्तले सुनाए ।
अवार्ड समर्पित गर्दै उनले भनेका थिए, ‘यो कुरा त्यसबेला हो जब रजनीकान्त हिरो होइन बसको कन्डक्टर थियो । त्यसैबाट मेरो गुजरा चल्थ्यो । त्यस बसको ड्राइभर थिए राज बहादुर । आज जो नायक तपाईंहरु स्क्रिनमा देख्नुहुन्छ यो राज बहादुरको हौसला र साथको देन हो ।’ रजनीकान्त र राज बहादुरबीच ५० वर्षदेखि अटुट सम्बन्ध छ । उनीहरुको सन् १९७० ताका भेट भएको थियो ।
कार्यविधि संवाददाता । १३ कार्तिक २०७८, शनिबार १४:२३ बजे