रैथाने रोग बन्ला त कोरोना !

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेर बहादुर पुन पेन्डामिकका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण इन्डामिकका रूपमा परिणत हुन सक्ने सम्भावना रहेको बताउँछन्।

काठमाडौँ : चीनको वुहानबाट सन् २०१९ डिसेम्बर अन्त्यबाट फैलिएर पेन्डामिक (विश्व महामारी)को रूप लिएको कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) इन्डामिक (स्थानीय) का रूपमा परिणत हुन्छ की हुँदैन भन्नेमा चिकित्सकहरूको मत बाझिएको छ।

कोरोना सङ्क्रमण ‘महामारीकै रूपमा रहन्छ या रहँदैन’ भन्नेमा चिकित्सकहरूको एकै मत देखिएन। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेर बहादुर पुन पेन्डामिकका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण इन्डामिकका रूपमा परिणत हुन सक्ने सम्भावना रहेको बताउँछन्।

तर, कोरोना भाइरस सङ्क्रमण इन्डामिकका रूपमा कहिले परिणत हुन्छ भन्ने आङ्कलन गरिहाल्न नसकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन्।

उनी भन्छन्‘कोभिडको हकमा इन्डामिक भयो की भन्न सक्दैनौँ अहिले।’

कोरोना भाइरस सङ्क्रमणले कस्तो रूप लिन्छ भन्ने सवाल अझै केही वर्ष कुर्नुपर्ने हुन सक्ने डा. अधिकारीको तर्क छ।

उनी भन्छन्‘२/४ वर्ष यसको ट्रेन्ड हेर्नुपर्छ। कुनै ठाउँ विशेषमा मात्रै देखिने हुँदै गयो भने त्यसलाई त्यही हिसाबले परिभाषित गर्नुपर्छ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी पनि तत्कालै कोरोना भाइरस सङ्क्रमण पेन्डामिकबाट इन्डामिकमा जाँदै गरेको आङ्कलन गरिहाल्न नसकिने बताउँछन्।

तर, कोरोना भाइरस सङ्क्रमण इन्डामिकमा परिवर्तन हुने सम्भावना भने बढेको उनको विश्लेषण छ। डा. मरासिनीले भने,‘बिस्तारै त्यता (इन्डामिक)तर्फ जाने सम्भावना बढ्दै गएको छ। रैथाने हुने सम्भावना बढ्यो।’

फाट्टफुट्ट देखिने

चिकित्सकको मत अनुसार दुई वा दुई भन्दा बढी मुलुकमा फैलिएर ठुलो जनसङ्ख्यालाई प्रभाव पारेको खण्डमा त्यस्तो रोगलाई पेन्डामिक (महामारी) भनिन्छ।

डा. पुन निश्चित ठाउँमा देखिरहने रोगलाई इन्डामिक भनिने बताउँछन्। उनले भने,‘पेन्डामिक भन्नाले एक ठाउँबाट अर्को ठाउँमा फैलन्छ। इन्डामिक भन्नाले स्थानीय स्तरमा रहिरहन्छ।’

डा. पुनको यो मतप्रति सह–प्रवक्ता अधिकारी पनि सहमत देखिन्छन्। ‘…भएकै रोग पनि दुई वा दुई भन्दा बढी देशमा ठुलो जनसङ्ख्यालाई प्रभाव पार्ने भयो भने त्यो पेन्डामिक(महामारी) भयो,’डा. अधिकारीले भने,‘इन्डामिकलाई पनि हामी सङ्क्रमण भन्छौँ। आउट ब्रेक भन्छौँ। प्रकोप भन्छौँ।’

इन्डामिकलाई पनि ‘प्रकोप’ भनिन्छ। रोगको प्रकोपलाई चिकित्सकीय भाषामा आउट ब्रेक भनिन्छ। जसको अर्थ अचानक फुट्नु तथा विस्फोट हुनु भन्ने हुन्छ। रोगको प्रकोपले धेरै ठाउँ नओगट्न सक्छ। तर, रोगको महामारी धेरै ठाउँमा फैलन्छ।

चिकित्सकको मत अनुसार स्थानीय रूपमा रहिरहन सक्ने रोगलाई इन्डामिकका रूपमा चिनिन्छ। इन्डामिकलाई स्थानीय स्तरमा रहिरहने रोगका रूपमा बुझ्न सकिन्छ। इन्डामिकको अर्थ स्थानीय रोग भन्ने हुन्छ। महामारीका रूपमा फैलिएको भाइरस सङ्क्रमण उत्परिवर्तन हुँदै स्थानीय रूपमा परिवर्तन हुनुलाई चिकित्सकीय भाषामा इन्डामिक भनिन्छ।

कोरोना भाइरस सङ्क्रमण भने महामारी हो। कोरोना भाइरस सङ्क्रमणको प्रभाव कम हुँदै जाँदा फाट्टफुट्ट देखिनुलाई इन्डामिक भन्न सकिने डा. मरासिनी बताउँछन्।

दुख दिन सक्ने

डा. पुन स्वाइनफ्लु (एच१ एन१-पिडिएम)को ढाँचा (मोडल) मा कोरोना भाइरस सङ्क्रमण इन्डामिकका रूपमा परिणत हुन सक्ने बताउँछन्। उनी भन्छन्,‘कुनै समयमा स्वाइनफ्लु(एच एन-पिडिएम)ले पनि म्याक्सीको, अमेरिका हुँदै विश्वव्यापी रूपमा प्रभाव पा¥यो। पेन्डामिकको रूप लिएर धेरै मान्छेलाई प्रभावित पार्‍यो।’

अहिले भने स्वाइनफ्लुको क्षमतामा ह्रास आई नियन्त्रित भएर बसे पनि प्रत्येक वर्ष जसो उपयुक्त मौसममा देखिने गरेको डा. पुनले सुनाए। स्वाइनफ्लु अहिले पनि विभिन्न ठाउँमा हरेक मौसममा देखिए पनि पहिलेजस्तो विध्वंस नमच्चाउने गरेको उनले सुनाए।

स्वाइनफ्लु विरुद्धको खोप भएको र यसको उत्परिवर्तन (म्युटेसन) हुँदै देखिने गरेको डा. पुन बताउँछन्।

‘यो (स्वाइनफ्लु) पनि उत्परिवर्तन हुन्छ। उत्परिवर्तन अनुसार नै खोपको पनि विकास भएको पाइन्छ,’उनले भने,‘कोरोना भाइरस सङ्क्रमणको चरित्र पनि परिवर्तनशील भइरहने भएकाले हामीसँग रहिरहन सक्ने सम्भावना छ।’

कोरोना भाइरस पनि स्थानीय (इन्डामिक) रोगका रूपमा रहन सक्ने डा. पुनको विश्लेषण छ। इन्डामिकका रूपमा परिणत भएको रोगले सामान्यतः धेरै उग्र रूप लिने सम्भावना कम हुने तर बेलाबखत भने दुःख दिन सक्ने डा. पुन बताउँछन्। डा. पुनका अनुसार सामान्यतः इन्डामिकका रूपमा परिणत भएको अवस्थामा रोग नियन्त्रण गर्न भने सकिने किसिमको हुन्छ।

स्वरूप परिवर्तन गरेको आधारमा कोरोना भाइरस सङ्क्रमण स्थानीय रूपमा रहिरहे पनि बिस्तारै विध्वंस मच्चाउने सम्भावना भने कम हुँदै जान सक्ने डा. पुनको विश्लेषण छ। उनले भने,‘कहिलेकाहीँ उग्र पनि हुन सक्छ।

वर्षौँको अन्तरालमा उग्र हुन सक्छ।’ कोरोना भाइरस सङ्क्रमणले रूप परिवर्तन गरिरहेकाले स्वाइनफ्लुको ढाँचामा रहन सक्ने डा. पुनको मत छ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण स्थानीय रूपमा सीमित भइसकेको छैन। यो भाइरस अझै पनि विश्वव्यापी महामारीको रूपमा फैलिएको छ। कोरोना भाइरस अझै विभिन्न रूपमा उत्परिवर्तन भइरहेको छ। उत्परिवर्तन हुँदै जाँदा कस्तो चरित्र देखाउँछ त्यो महत्त्वपूर्ण हुने चिकित्सक बताउँछन्।

अनुमान गर्न हतार 

सह–प्रवक्ता डा. अधिकारीले एकचोटी कुनै ठाउँमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको प्रजाति संसारभरि फैलिएको उदाहरण दिए। उनले भने,‘यो त एक चोटि नयाँ भेरियन्ट कहीँ देखिन्छ, संसारभरि गइरहेको छ। एउटा देशमा पिक पार गर्छ, अर्को देशमा फेरी सुरु हुन्छ।’

परिवर्तित रूपमा देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोन प्रजाति (भेरियन्ट) ले विश्वमा एकै पटक ठुलो जनसङ्ख्यामा प्रभाव पारेको र यसपछि कोरोना भाइरस सङ्क्रमणको प्रभाव कम हुन्छ की भन्ने अनुमान भने भएको डा. अधिकारीको तर्क छ।

उनी कोरोना भाइरस सङ्क्रमणले इन्डामिक, इपिडेमिक वा पेन्डामिकमध्ये अझै कस्तो रूप लिन्छ भन्ने आकलन गरिहाल्नु हतार हुने बताउँछन्। निश्चित समयपछि पेन्डामिकका रूपमा फैलिएको कोरोना भाइरस इन्डामिकमा परिणत हुन सक्छ? भन्ने जिज्ञासामा डा. अधिकारीले पेन्डामिक भएको रोग भोलि इन्डामिक हुन्छ वा हुँदैन भन्न नसकिने जवाफ दिए।

कोरोना भाइरस सङ्क्रमणको प्रजातिमा मौसमी प्रभाव नदेखिएको, भूगोलको दृष्टिले यो ठाउँमा बढी वा त्यो ठाउँमा कम हुने भन्ने पनि नदेखिएकाले इन्डामिकका रूपमा परिणत हुन्छ वा हुँदैन भन्ने आकलन गर्न नसकिने डा. अधिकारीको तर्क छ। यो अनुसन्धानकै विषय भएको उनी बताउँछन्।

इन्डामिकको रूपमा परिवर्तन हुनका लागि कुनै वर्ग विशेषलाई, कुनै मौसम विशेषमा, कुनै ठाउँ विशेषमा देखिने भन्ने भए पनि कोरोनाको सवालमा त्यस्तो नदेखिएको डा. अधिकारीले बताए।

उनले मलेरियालाई इन्डामिक रोगको उदाहरण दिँदै भने,‘नेपालमा मलेरिया कहिले लाग्छ भनेर समय निश्चित छ। कहाँ बस्नेलाई लाग्छ भन्ने पनि करिब निश्चित छ।’ स्क्रबटाइफस, डेंगुजस्ता रोगका सङ्क्रमण निश्चित मौसम र निश्चित ठाउँमा हुन्छ, निश्चित वर्गमा हुन्छ भन्ने करिब निश्चित भएको उनी बताउँछन्।

डा. अधिकारीले नेपालमा कालाजार, मलेरिया, हात्तीपाइले रोग इन्डामिकका रूपमा रहेको उदाहरण दिए। ‘सबै ठाउँमा देखिने हैन। त्यो ठाउँको लागि (मलेरिया) इन्डामिक भयो,’उनले भने,‘इन्डामिक भन्नाले (हामीकहाँ) भइरहने रैथाने रोग भन्ने बुझ्नुपर्‍यो पर्‍यो।’

स्वरूप परिवर्तन भएर अव आउने प्रजाति (भेरियन्ट)ले कोरोना भाइरस सङ्क्रमणले कति चाँडै पेन्डामिकबाट इन्डामिकमा परिणत हुन्छ भन्ने अनुमान लगाउन सकिने डा. पुन बताउँछन्।

खोप र एन्टिबडीको प्रभाव 

कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या धेरै भए पेण्डामिक इन्डामिकमा परिणत हुँदै जाने सम्भावना हुने डा. मरासिनी बताउँछन्। उनी भन्छन्,‘अहिलेको भन्दा अलि राम्रो भयो भने एक मान्छेदेखि अर्को मान्छेमा सर्ने काम रोक्छ। खोप अहिलेको भन्दा अलि राम्रो भयो भने बिस्तारै इन्डामिक हुने सम्भावना छ।’

तर, बालबालिका खोप नलगाउँदा भने महामारी रहिरहने सम्भावना हुने डा. मरासिनी बताउँछन्।

चिकित्सकका अनुसार कोरोना भाइरस विरुद्धको खोप लगाउँदा रोग प्रतिरोधात्मक क्षमता (एन्टीबडी)को विकास हुन्छ। अर्कातर्फ अधिकांश व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।

महामारीको चरणपछि कोरोना भाइरस पनि स्थानीय रोग बन्न सक्ने डा. मरासिनी बताउँछन्।

प्राकृतिक रूपमा सङ्क्रमित भएर रोग प्रतिरोधात्मक क्षमता विकास हुनु जोखिम हुने डा. अधिकारी बताउँछन्। खोप लगाएर रोग प्रतिरोधात्मक क्षमता विकास हुनु कोरोनाको जोखिम कम गर्ने सुरक्षित विधि मानिन्छ। तर, पेन्डामिक र इन्डामिकमा रोग प्रतिरोधात्मक क्षमताको विकासले प्रभाव नपर्ने डा. अधिकारीको तर्क छ।

खोप लगाउनेको सङ्ख्या पनि बढिरहेकाले केही उज्याला परिस्थिति आउन सक्ने अनुमान भने चलिरहेको डा. अधिकारी बताउँछन्। उकेरा न्युजबाट