नगरपालिकाले विद्यालय सुधार्न नगरका सबै माविमा सिसी क्यामेरा जडान

विद्यालय सुधार्न नगरपालिकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ ।

फिदिम नगरपालिकाका १४ वटै वडामा रहेका २० माध्यमिक विद्यालयलाई सिसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाइएको हो ।

प्रत्येक विद्यालयमा चार वटाका दरले क्यामेरा जडान गरिएको नगरपालिका प्रशासनले  जनाएको छ ।

माध्यमिक विद्यालयमा जडित क्यामेराको निगरानी भने नगरपालिकाबाट गर्न मिल्ने व्यवस्था मिलाइएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।

प्रमुख काफ्लेका  अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको रु ८ लाख ८५ हजार बजेटबाट सिसी क्यामेरा जडान गरिएको हो ।

जिल्लाको एक चौथाइ बढी जनसङ्ख्याको बसोबास रहेको फिदिममा २० माध्यमिकसहित कूल ७९ सामुदायिक विद्यालय छन् । सबै सामुदायिक विद्यालयमा विद्युत्, इन्टरनेट र ई–हाजिरीको व्यवस्था गरिएको शिक्षा महाशाखा कार्यालयले जनाएकाे छ।