देउसीबाट सङ्कलित रकम विपद व्यवस्थापन कोषमा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको विपद व्यवस्थापन कोषको मुलधन रु साढे चार लाख नाघेको छ । विसं २०७५ मा देउसी/भैलो खेलेर जम्मा भएको रु ४२ हजार रकम जम्मा गरेर स्थापना गरिएको कोषको मुलधन यस वर्ष रु चार लाख ६१ हजार ३२५ पुगेको हो ।

रु तीन लाख ५० हजार मुलधन रहेको कोषमा यस वर्षको तिहारमा खेलिएको देउसी/भैलो कार्यक्रमबाट रु एक लाख ११ हजार ३२५ रकम थप हुँदा मुलधन रु चार लाख ६१ हजार ३२५ पुगेको वडाध्यक्ष एवम् कोष सञ्चालक समितिका अध्यक्ष ध्रुबविक्रम राईले जानकारी दिएका छन्  ।

‘आगलागी, बाढी पहिरो, चट्याङ, भूकम्प जस्ता प्राकृतिक प्रकोप एवम् मुटु, मिर्गौला, क्यान्सर जस्ता दीर्घरोगबाट पीडित भएर समस्यामा परेका स्थानीयलाई कोषमार्फत सहयोग गर्ने गरिएको छ’, उनले भने, ‘देउसीको दानबाट शुरु गरिएको कोषलाई बृद्धि गर्दै आगामी दिनमा कम्तिमा रु ५० लाख मुलधन पुर्‍याएर सो को ब्याजबाट प्रकोप पीडितलाई सहयोग गर्ने लक्ष्य राखिएको छ ।’ लाेकान्तर बाट