आज कृष्ण जन्माष्टमी ,देशभरका कृष्ण मन्दिरमा भक्तजनको भिड

आज कृष्ण जन्माष्टमी, हिन्दु धर्मावलम्बीले भगवान श्रीकृष्णको पूजा आराधना गर्दै कृष्ण जन्माष्टमी मनाइदै छ  ।

भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो छ । भगवान विष्णुको आठौँ अवतारका रुपमा द्वापर युगमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास गरिन्छ ।

ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता भगवान श्रीकृष्णको जन्म हिन्दु धर्मशास्त्र अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको थियो । मध्यरातमा जन्मिएका कारण भाद्र कृष्ण अष्टमीको दिनलाई कृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । बासुदेव र देवकीका आठौ सन्तानको रुपमा श्रीकृष्णको जन्म मथुरामा भएको थियो ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट संसारलाई मुक्त गराउन द्वापरयुगमा भगवान विष्णुले कृष्णको रुपमा जन्म लिएको धर्मशास्त्रमा उल्लेख छ ।

श्रद्धालुहरुले आज व्रत बसेर भगवान् श्रीकृष्णको पूजा आराधना गरी जन्माष्टमी पर्व श्रद्धा भक्तिपूर्वक मनाउँछन् । श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन पनि छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश ‘श्रीमदभागवतगीता’को रुपमा पुजिन्छ । यो हिन्दूहरूको पवित्र धर्मग्रन्थ हो । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ ।