छुवाछुत कसुरमा वडाध्यक्षलाई साढे चार महिना जेल

अदालतले  जातीय छुवाछुतसम्बन्धी कसुरमा  गत बिहीबार वडाध्यक्षलाई साढे चार महिना  जेल सजाय गरेकाे छ ।

कास्की जिल्ला अदालतले  पोखरा महानगरपालिका–२४ को  वडाध्यक्ष भरतबहादुर अधिकारीलाई साढे चार महिना जेल सजायको फैसला गरेको छ ।  फैसलाले आफूलाई न्यायको अनुभूति भएको जाहेरीकर्ता मैया नेपालीले बताएकी छन्।  उनी पनि  पोखरा महानगरपालिका–२४ को वडा सदस्य  हुन्।

गत  २०७९ पुस १८ गते कास्कीकोटमा आयोजित महिला भेलाकाे सार्वजनिक कार्यक्रममा जातीय विभेदजन्य गाली गरेको भन्दै नेपालीले वडाध्यक्ष अधिकारीविरुद्ध  पुस २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएकी थिइन्।   अधिकारी र वडा सदस्य नेपालीबीच लक्षित समूहलाई छुट्याएको बजेटको कारण विवाद हुँदा अधिकारीले विभेदजन्य गाली गरेका रहेछन्  ।

वडाध्यक्ष अधिकारीलाई साढे चार महिना कैदका साथै ७५ हजार रुपैयाँ जरिबाना र १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसलासमेत भएको छ।जातीय तथा अन्य सामाजिक छुवाछुत र भदभावसम्बन्धी (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई थप ५० प्रतिशत सजाय हुने व्यवस्था छ। उनलाई सोही बमोजिम सजाय सुनाइएको अदालतले जनाएको छ।