शिक्षकले च्याटजीपीटी प्रयोग गरेको फेला पारेपछि विद्यार्थीले फिर्ता मागिन् कलेज फी

     आफ्ना प्राध्यापकले गोप्य रूपमा एआई टुल प्रयोग गरी नोट तयार गरेको थाहा पाएपछि अमेरिकाको एक विश्वविद्यालयकी विद्यार्थीले शिक्षण शुल्क फिर्ता गर्नुपर्ने माग राखेकी छिन् । नर्थइस्टर्न विश्वविद्यालयबाट यसै वर्ष स्नातक गरेकी एला स्टेपलटनले ‘बिजनेस’ विषयका प्राध्यापकको लेक्चरमा शङ्का लागेपछि औपचारिक उजुरी दर्ता गराएकी हुन् ।

स्टेपलटनका अनुसार उनले प्राध्यापकले तयार पारेको नोटमा एआईले लेखेको सामग्रीका स्पष्ट सङ्केत देखेकी थिइन् । त्यसको सन्दर्भ सूचीमा ‘च्याटजीपीटी’ को उद्धरण, बारम्बार देखिने टाइप त्रुटि र अतिरिक्त अङ्ग भएका तस्बिर थिए । उनले उक्त घटना थाहा पाउने बित्तिकै कक्षाकी एक साथीलाई टेक्स्ट म्यासेज गरेर नोटको बारेमा तत्कालै जानकारी दिएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

“के तिमीले क्यानभासमा राखेको नोट हेर्‍यौ ? प्राध्यापकले त त्यो च्याटजीपीटीबाट बनाउनु भएको रहेछ,” स्टेपलटनले साथीलाई टेक्स्टमार्फत जानकारी दिएकी थिइन् । त्यस‍को जवाफमा साथीले भनेकी थिइन्, “हे भगवान्, के हो यो ?”

प्रतिष्ठित विश्वविद्यालयको महँगो शुल्कका बावजुद आफूले उच्चस्तरीय शिक्षा नपाएकोमा आक्रोशित स्टेपलटनले विश्वविद्यालयको बिजनेस स्कुलमा औपचारिक उजुरी दर्ता गरिन् । सो उजुरीमा एआईको प्रयोगका साथै प्राध्यापकको शिक्षण शैलीमा अन्य समस्या भएको उल्लेख गरिएको थियो । यसरी प्रध्यापकले एआई टुल प्रयोग गरेको भन्दै ती विद्यार्थीले शिक्षण शुल्क लगभग आठ हजार अमेरिकी डलर (करिब १० लाख रुपैयाँ) फिर्ता पाउनुपर्ने माग राखेकी थिइन् ।

“उहाँले हामीलाई च्याटजीपीटी प्रयोग नगर भन्नुहुन्छ अनि आफैँ प्रयोग गर्नुहुन्छ,” स्टेपलटनले भनिन् ।‍ तर, धेरै छलफलपछि नर्थइस्टर्न विश्वविद्यालयले स्टेपलटनको माग अस्वीकार गरेको बताइएको छ । एआई नोटका पछाडि रहेका प्राध्यापक रिक एरोउडले आफूले च्याटजीपीटी, पर्प्लेक्सिटी एआई सर्च इन्जिन र एआई प्रेजेन्टेसन तयार पार्ने टुल गामा प्रयोग गरेर लेक्चर तयार पारेको स्वीकार गरे । “अहिले फर्केर हेर्दा मलाई लाग्छ मैले त्यसलाई अझ राम्रोसँग ध्यान दिएर हेर्नुपर्ने रहेछ । यदि मेरो अनुभव अरूका लागि सिक्ने अवसर बन्यो भने म त्यसलाई खुसीको कुरा मान्छु,” उनले न्युयोर्क टाइम्सलाई भने । नर्थइस्टर्नको एआई नीति अनुसार कुनै पनि फ्याकल्टी मेमेबर वा विद्यार्थीले ‘एआई सिस्टम प्रयोग गरी सामग्री तयार पार्दा उचित श्रेय दिनुपर्छ’ ।

सन् २०२२ मा सार्वजनिक भएको च्याटजीपीटीले विश्वभर एआई क्षेत्रमा क्रान्ति ल्याएको छ । सुरुवाती समयमा विद्यार्थी नै यस टुलका प्रयोगकर्ता भएपनि थुप्रै स्कुल तथा क्याम्पसले यसको प्रयोग सीमित गरेका छन् । केहीले भने च्याटजीपीटी लगायतका एआई टुलको प्रयोगलाई पूर्ण रूपमा रोक लगाएका छन् ।