जाजरकोट । जाजरकोट सदरमुकाम खलङ्गास्थित होटल तथा पसलहरूमा गरिएको संयुक्त बजार अनुगमनले बजार व्यवस्थापनको कमजोर अवस्था उजागर गरेको छ । शान्तिचौतारा र गैरीखाली क्षेत्रमा सञ्चालनमा रहेका ३४ वटा होटल तथा पसलमा गरिएको निरीक्षणका क्रममा उपभोक्ता अधिकारको उल्लङ्घन व्यापक रूपमा भेटिएको हो । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत दिलीपकुमार सोनीका अनुसार अनुगमनका क्रममा करिब ५६ हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका पेय पदार्थ तथा खाद्यान्न सामग्री जफत गरी नष्ट गरिएको छ । बजारमा उपभोग्य वस्तुहरू सुरक्षित र गुणस्तरीय हुनुपर्ने भए पनि अधिकांश व्यवसायीले न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएको उनले बताए ।
अनुगमन टोलीले धेरैजसो पसल तथा होटलमा मूल्यसूची नराखिएको, सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको र खाद्यान्न सामग्री भण्डारणमा लापरबाही गरिएको पाएको छ । यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै टोलीले चिन्ता व्यक्त गरेको छ। यसैबीच, एउटै क्षेत्रमा डिजेल र पेट्रोल फरक–फरक मूल्यमा बिक्री भइरहेको समेत फेला परेको छ । इन्धनको यस्तो असमान दरलाई उपभोक्तामाथिको ठगीको रूपमा लिँदै सरोकारवालाहरूले तत्काल सुधार आवश्यक रहेको बताएका छन् ।
अनुगमनपछि सम्बन्धित व्यवसायीहरूलाई आवश्यक सुधार गर्न कडा निर्देशन दिइएको प्रशासकीय अधिकृत सोनीले जानकारी दिए । उनका अनुसार मूल्यसूची अनिवार्य रूपमा राख्न, सरसफाइमा सुधार ल्याउन र म्याद गुज्रिएका सामग्री बिक्री नगर्न चेतावनीसमेत दिइएको छ । जिल्ला प्रशासन कार्यालयले बजारलाई व्यवस्थित र उपभोक्ता मैत्री बनाउन आगामी दिनमा यस्ता अनुगमनलाई अझ प्रभावकारी र नियमित बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।



कार्यविधि संवाददाता । २० चैत्र २०८२, शुक्रबार ०९:२५ बजे