धुलाम्मे खण्डमा  कालोपत्रे, वर्षाैँ  पछि स्थानीयलाई राहत

कालीकोट ।  कर्णाली राजमार्गअन्तर्गत कालीकोटको मान्म खण्डमा लामो समयदेखि धुलाम्मे रहेको सडक कालोपत्रे गरिएको छ । सडक सञ्चालनमा आएको वर्षौँपछि उक्त खण्ड कालोपत्रे भएपछि स्थानीयवासीलाई ठूलो राहत पुगेको छ । यसअघि सडकमा सधैँ धुलो उड्दा आसपासका बस्तीका नागरिकले निकै सास्ती भोग्दै आएका थिए । कर्णाली राजमार्ग निर्माण भएपछि एकपटक ओटासिल गरिएको भए पनि वर्षात्को पानीले बगाएपछि मान्म खण्ड पुनः धुलाम्मे बन्दै आएको थियो । यसपालि भने केही समय टिक्ने गरी कालोपत्रे गरिएकाले स्थानीय खुसी भएका छन् ।

स्थानीय दीपक शाहीका अनुसार झण्डै १३ वर्षपछि सडकको धुलोबाट मुक्ति मिलेको हो । उनले भने  सुरुका पाँच वर्ष त धुलोमै बित्यो । २०६९ सालमा अलकत्रा हाल्दा केही महिना सहज भएको थियो, तर वर्षाले बगाएपछि फेरि धुलोमै बस्नुपर्‍यो  । अहिले कालोपत्रे भएपछि ढुक्क भएको छ ।  मान्म सडकको सेरीघाटदेखि बजारसम्मको क्षेत्र पहिले निकै जीर्ण थियो ।  हाल सेरीघाटदेखि स्वास्थ्य सेवा कार्यालयसम्मको खण्ड कालोपत्रे गरिएको छ भने अस्पतालदेखि सशस्त्र ब्यारेकसम्मको खण्डमा अझै पनि धुलोको समस्या कायम छ ।

कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले सडक सुधार क्रमशः भइरहेको बताए । सम्बन्धित निकायले काममा सक्रियता देखाएका छन्, त्यसैले केही सुधार देखिएको छ,  उनले भने । प्रदेश सरकारले समयमै काम नगर्ने निर्माण व्यवसायीमाथि कडाइ गर्दै सम्झौता तोड्ने र कालोसूचीमा राख्ने नीति लागू गरेपछि विकास निर्माणका कामले गति लिन थालेका छन् । हालै सडक डिभिजन कार्यालय जुम्लाले चार निर्माण व्यवसायीसँगको सम्झौता तोडेपछि अन्य व्यवसायी पनि काममा सक्रिय भएका छन् । स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. रत्नवीर सुनारले अस्पताल आसपासको धुलोका कारण बिरामीलाई समस्या हुने गरेको बताए । बाहिर बस्नै सकिँदैन, हावा चल्दा धुलो अस्पतालभित्रै पस्छ, उनले भने ।