सल्यान । सल्यान जिल्लामा अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन र ओसारपसार गर्ने गतिविधिविरुद्ध प्रहरीले कडाइ गर्दै २५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न खोला तथा नदी क्षेत्रबाट भइरहेको अवैध उत्खनन रोक्न प्रहरीले सक्रिय अनुगमन थालेको हो । यही क्रममा पछिल्लो चार दिनभित्र ती सवारी साधनहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार शारदा, थारमारे, लुहाम र सल्ली लगायतका क्षेत्रबाट अवैध गतिविधिमा संलग्न ट्याक्टरहरू पक्राउ परेका हुन् ।
नियन्त्रणमा लिइएका सबै ट्याक्टरहरू सम्बन्धित प्रहरी चौकीमा राखेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार पछिल्लो समय यस्ता गतिविधिमा संलग्न सवारी साधनमाथि निगरानी बढाइएको छ । नियमविपरीत सञ्चालन हुने ट्याक्टरहरू नियन्त्रणमा पर्न थालेपछि अवैध उत्खननमा केही कमी आएको देखिएको उनले बताए ।
प्रहरीले जिल्लाभर अनुगमन तथा नियन्त्रण अभियानलाई निरन्तरता दिएको जनाएको छ । विशेषगरी नदी तथा खोलानालाबाट अनुमति बिना प्राकृतिक स्रोत दोहन गर्ने कार्य रोक्न कडाइ गरिएको हो । साथै, प्रहरीले अनुमति बिना यस्ता गतिविधिमा संलग्न नहुन र नगराउन सबै सरोकारवालासँग आग्रह गरेको छ। नियम उल्लङ्घन गर्ने जोकोहीलाई कानुन अनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ ।



कार्यविधि संवाददाता । २२ चैत्र २०८२, आईतवार १३:०७ बजे