प्रमुख प्रशासकीय अधिकृत नहुदा  निमित्तकै भरमा

कालीकोट ।  खाँडाचक्र नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका निमित्तकै भरमा सञ्चालन भइरहेको छ । जिल्लाका अन्य सबै पालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत हुँदा सदरमुकामस्थित यो नगरपालिका भने नेतृत्वविहीन बनेको छ । सरकारले देशभरका ७ सय ५३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको दाबी गरे पनि खाँडाचक्र नगरपालिकामा दरबन्दीअनुसारको कर्मचारी अभाव देखिएको छ । २०७४ सालदेखि अधिकांश समय नगरपालिका निमित्त प्रमुखकै भरमा चल्दै आएको छ।

गत भदौमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्थानीय तहमा कर्मचारी खटाउने अभियानअन्तर्गत लोक सेवा आयोग कर्णाली प्रदेशमा कार्यरत उपसचिव पदमबहादुर बुढाक्षेत्री यहाँ सरुवा भई हाजिर हुनुभएको थियो। तर १५ दिनमै उनलाइ  दैलेखको दुल्लु नगरपालिकामा पुनः सरुवा गरिएपछि नगरपालिका फेरि नेतृत्वविहीन बन्न पुगेको हो । २०७९ सालको पाँच महिना र गत भदौ–असोजको छोटो अवधिबाहेक नगरपालिकाले दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन ।

नगरपालिकाका स्वास्थ्य तथा सरसफाइ शाखामा कार्यरत वरिष्ठ अहेव रविन्द्र सेजुवालका अनुसार स्थायी प्रमुख प्रशासकीय अधिकृत नहुँदा निर्णय प्रक्रिया प्रभावित भएको छ र सेवाग्राहीका काम समयमै हुन सकेका छैनन् । शिक्षा शाखा प्रमुखले जिम्मेवारी लिन नमानेपछि वरिष्ठताका आधारमा अर्को कर्मचारीलाई निमित्त बनाइएको भए पनि त्यसले पूर्ण अधिकार प्रयोग गर्न नसक्ने अवस्था रहेको उनले बताए । 

स्थानीयवासीका अनुसार कर्मचारी अनुशासनमा पनि असर परेको छ । कार्यालय सहयोगी, राजस्व, रोजगार र प्रशासन शाखाबाहेक अन्य कर्मचारी नियमित रूपमा उपस्थित नहुने गुनासो गरिएको छ । सामान्य सिफारिस लिन समेत ढिलाइ हुने गरेको स्थानीय नेत्रबहादुर शाहीले बताए । नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले पनि कर्मचारी अनुशासन कमजोर भएको स्वीकार गरे । उनले  हाजिरी व्यवस्थापनमा कडाइ गर्न खोजिए पनि अपेक्षित सुधार हुन नसकेको बताउँदै संस्थागत सुधारको आवश्यकता औंल्याए ।