बालमैत्री स्थानीय शासन घोषणाको तयारी तीव्र

सल्यान  ।  कपुरकोट गाउँपालिकाले २०८३ पुससम्म आफ्ना वडाहरूलाई र आगामी फागुनसम्म पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न तयारी तीव्र बनाएको छ ।  यसअन्तर्गत गाउँपालिकाका सबै ६ वडामा बालमैत्री स्थानीय शासनको नीतिगत र प्रक्रियागत अवलम्बन, कार्यान्वयन तथा घोषणा प्रक्रियासम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बालमैत्री तथा पोषण सहजकर्ता विष्णुप्रसाद चौबे ले बालमैत्री स्थानीय शासनको अवधारणा, कार्यान्वयनका चरण, सूचक र घोषणा प्रक्रियाबारे प्रशिक्षण दिएका थिए ।

वडास्तरका सबै सरोकारवालाहरूले आगामी पुस मसान्तसम्म बालमैत्री वडा घोषणा गर्न सामूहिक प्रतिबद्धता जनाएका छन् । वडास्तरीय कार्यक्रममा १९ प्रकारका सरोकारवालाहरू सहभागी थिए, जसमा जनप्रतिनिधि, प्रहरी, स्वास्थ्य चौकी प्रमुख, वडा सचिव, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका र बाल समूह सञ्जालका प्रतिनिधि रहेका थिए । कपुरकोट–४ का वडाध्यक्ष मित्र कठायत का अनुसार, सबै सूचक पूरा गर्दै निर्धारित समयमै वडा घोषणा गर्न तयारी तीव्र बनाइएको छ ।

पालिकाले बालमैत्री स्थानीय शासन कार्यसम्पादन कार्यसमितिको समीक्षा पनि सम्पन्न गरिसकेको छ । वडा नं. ५ मा पहिलो बैठकमार्फत घोषणाका लागि गर्नुपर्ने कार्य र निर्णयहरू तय भएका छन्, वडाध्यक्ष होमराज खड्का ले जानकारी दिए । बालमैत्री स्थानीय शासन कार्यक्रमले बालबालिकाको अधिकार सुनिश्चित गर्ने, सुरक्षित वातावरण निर्माण गर्ने, शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच विस्तार गर्ने तथा बाल सहभागिता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ ।