हुम्ला । चार वर्षअघि सम्झौता भई शिलान्यास गरिएको सर्केगाड गाउँपालिकाको १५ शय्याको अस्पताल निर्माण कार्यले हाल तीव्रता पाएको छ । पटक–पटक म्याद थप हुँदै आएको र अन्ततः गाउँपालिकाले सम्झौता रद्द गर्ने चेतावनी दिएपछि निर्माण कम्पनीले असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्र बनाएको हो । गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार निर्माण कार्यमा देखिएको पछिल्लो प्रगतिले चालु आर्थिक वर्षभित्र अस्पताल सम्पन्न हुने अपेक्षा गरिएको छ । उनले सम्झौता भएको पहिलो वर्ष शिलान्यास मात्र भएको, दोस्रो वर्ष हात्तीपाइले ढलान, र तेस्रो वर्ष पिल्लर ढलानपछि काम रोकिएको जानकारी दिए ।
गाउँपालिकाको कडा दबाबपछि गत भदौदेखि निर्माण कार्य पुनः सक्रिय रूपमा अगाडि बढाइएको अध्यक्ष रोकायाले बताए । निर्माण कम्पनी सिएम कन्स्ट्रक्सनका सब–इन्जिनियर डिबी लामाका अनुसार हालसम्म अस्पतालको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । सुरुवाती चरणमा सडक पहुँच नहुँदा निर्माण सामग्री ढुवानीमा समस्या आएर काम ढिला भएको उनले बताए । अहिले गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि निर्माण सामग्री सहज रूपमा ल्याउन सकिएको छ, जसले कामलाई गति दिएको छ, उनले भने । लहाल भवनको पहिलो तलाको ढलान सम्पन्न भइसकेको छ भने अब फिनिसिङ कार्य भइरहेको निर्माण पक्षले जनाएको छ ।



कार्यविधि संवाददाता । ३० चैत्र २०८२, सोमबार १०:३३ बजे