मुगु । जिल्लाको पश्चिमी क्षेत्र खत्याड गाउँपालिका–७ गम्थामा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । दुर्गम क्षेत्रमा रहेका स्थानीय बासिन्दालाई नागरिकता, जग्गा सम्बन्धी तथा अन्य सरकारी सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यालय स्थापना गरिएको हो । गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली, मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, गाउँपालिका अध्यक्ष अजबहादुर शाही, सुरक्षा निकायका प्रमुख तथा समाजसेवी अनिल बानियाँ लगायतको टोलीले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरेको गाउँपालिकाले जनाएको छ ।
खत्याड गाउँपालिका–३ का स्थानीय रामहरि बुढाका अनुसार यसअघि नागरिकता र जग्गासम्बन्धी कामका लागि स्थानीयले एक दिन पैदल यात्रा गरी जिल्लाको सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता थियो । नागरिकता बनाउन जाँदा–आउँदा तथा बसोबास खर्च जोड्दा करिब १० देखि १५ हजार रुपैयाँसम्म खर्च हुने गरेको उनले जानकारी दिए । नयाँ कार्यालय स्थापना भएसँगै अब त्यो समस्या हट्ने अपेक्षा गरिएको छ । यसअघि खत्याडका नागरिकहरूलाई सबै प्रशासनिक सेवाका लागि गमगढी नै पुग्नुपर्ने अवस्था थियो ।
अब गाउँपालिकामै प्रशासनिक सेवा उपलब्ध भएपछि सेवा प्रवाह सहज हुने गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले बताए । तत्कालीन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको पहलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खत्याडमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारले दुर्गम क्षेत्रका नागरिकलाई सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले इलाका प्रशासन कार्यालयसँगै नापी र मालपोत कार्यालयसमेत स्थापना गरेको हो ।



कार्यविधि संवाददाता । ३ बैशाख २०८३, बिहीबार ११:०५ बजे