चोरी शिकार नियन्त्रणका लागि समुदायमा जनचेतना कार्यक्रम

 डोल्पा ।  त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्रको वन क्षेत्रमा अवैध चोरी शिकार नियन्त्रण गर्न समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । “CBAPU २०८३” कार्यक्रममार्फत युवाहरूलाई सक्रिय बनाउँदै समुदाय–आधारित संरक्षण प्रणाली सुदृढ गर्ने लक्ष्य राखिएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको आयोजनामा र डब्लुडब्लुएफ नेपालको सहयोगमा कार्यक्रम त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरासुन्दरी महिला सामुदायिक भवनमा भएकाे छ ।

कार्यक्रममा निकुञ्जका सिनियर गेमस्काउट नेत्र बोहराले स्थानीय युवालाई चोरी शिकार नियन्त्रण, जैविक विविधता संरक्षण तथा निकुञ्ज व्यवस्थापनमा प्रत्यक्ष सहभागी गराउने उद्देश्य रहेको बताए । त्यस्तै, निकुञ्ज कार्यालय सुलिगाडका सिनियर गेमस्काउट वसन्त हमाल, जमुना भण्डारी र शिशिर शाहीले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको ऐतिहासिकता, वर्तमान अवस्था र संरक्षणमा समुदायको भूमिकाबारे जानकारी दिएका थिए । सहभागीहरूले समुदाय, प्रहरी र निकुञ्जबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै अवैध शिकार नियन्त्रण तथा वन्यजन्तु संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् ।