कालिका लघुवित्तद्वारा सदस्यलाई राहत 

रुकुम पश्चिम ।  कालिका लघुवित्तीय संस्था शाखा कार्यालय रुकुम पश्चिमले आफ्ना सदस्यलाई राहत तथा किरिया खर्च प्रदान गरेको छ । संस्थामा आवद्ध सदस्यको परिवारमा परेको दुःखद घटनापछि राहतस्वरूप रकम उपलब्ध गराइएको हो । संस्थाका शाखा प्रमुख सिर्जना केसीका अनुसार मुसिकोट नगरपालिका–१३ की रविना रावतलाई चार लाख २५ हजार रुपैयाँ राहतस्वरूप प्रदान गरिएको हो । उनका श्रीमानको दुर्घटनामा परी मृत्यु भएपछि संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलब्ध गराएको जनाएको छ ।

उक्त राहत रकममध्ये चार लाख रुपैयाँ राहतस्वरूप र २५ हजार रुपैयाँ किरिया खर्चका रूपमा प्रदान गरिएको हो। रविनाले २०८२ जेठ ६ गते संस्थाबाट दुई लाख रुपैयाँ कर्जा लगानी गरेकी थिइन् । राहत वितरण कार्यक्रम कोपिला पुन रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मुसिकोट नगरपालिका–१३ का वडा सदस्य वीरबहादुर रोकाको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाको अनुगमन मुकाम वीरेन्द्रनगर सुर्खेतका अनुगमन अधिकृत मोहन न्यौपाने विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा मुसिकोट शाखा प्रमुख सिर्जना केसीले सञ्चालन गरेकी थिइन् भने शाखाका कर्मचारी भरत बिसी र रमिता भण्डारीको पनि उपस्थिति रहेको थियो । संस्थाले विपद् तथा आपतकालीन अवस्थामा आफ्ना सदस्यलाई सहयोग गर्ने नीति अनुरूप राहत उपलब्ध गराइएको जनाएको छ ।