आठबीस नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

दैलेख जिल्लाको आठबीस नगरपालिका लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। आठबीस नगरपालिका नगर कार्यपालिकाको कार्यालय, राकम कर्णालीद्वारा आयोजित “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा समारोह” मार्फत नगरपालिकालाई पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको हो।

नगरपालिकाका अनुसार स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, सरोकारवालाको सक्रिय सहभागिता तथा स्वास्थ्यकर्मीहरूको समन्वयमा नगरभित्रका लक्षित बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याउँदै पूर्ण खोप सुनिश्चित गरिएको हो। कार्यक्रममा खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य शाखा, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको थियो।

समारोहमा जिल्ला समन्वय समिति प्रमुख नमराज शाही, नगर प्रमुख तर्कबहादुर बडुवाल, उपप्रमुख कल्पना थापा (चन्द) तथा खोप अधिकृत थिरप्रसाद रेग्मी लगायतले पूर्ण खोप अभियान बालबालिकाको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका थिए।

उनीहरूले खोपबाट बच्न सकिने रोगहरूको न्यूनीकरणका लागि नियमित खोप अभियानलाई अझ सशक्त बनाउँदै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। पूर्ण खोप सुनिश्चितता घोषणा भएसँगै आगामी दिनमा नियमित अनुगमन, जनचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै खोप कार्यक्रमलाई दिगो र प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ।