पूर्णखोप सुनिश्चितता वडा घोषणा

जुम्ला ।  तातोपानी गाउँपालिका दुई लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । गाउँपालिकालाई पूर्णखोप सुनिश्चित बनाउने वार्षिक कार्यक्रमअनुसार वडास्तरबाट घोषणा गर्ने अभियान अन्तर्गत मंगलबार वडा नं  दुई लाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता वडा घोषणा गरिएको हो । वडा नं  दुई का अध्यक्ष चन्द्रमान बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको तातोपानी स्वास्थ्य चौकीका इन्चार्ज जंग रावलले जानकारी दिए ।

उनका अनुसार सबै खोप उमेर समूहका बालबालिकालाई खोपको पहुँचमा ल्याउने, नियमित खोप सेवा सुनिश्चित गर्ने र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित उक्त घोषणा गरिएको हो ।  घरधुरी सर्वेक्षणका क्रममा वडा नं २ मा १२ देखि २३ महिनासम्मका ६८ जना बालबालिका पहिचान गरिएको थियो । तीमध्ये २६ जनाले नियमित खोप सेवा प्राप्त गरिसकेका छन् भने चालु आर्थिक वर्षको साउन महिनायता थप १९ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् ।

यससँगै वडामा खोप सेवा पहुँच सुनिश्चित भएको जनाउँदै स्थानीय तहले वडालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरेको हो । आठ वटा वडा रहेको तातोपानी गाउँपालिकामा यसअघि वडा नं एक लाई पनि पूर्णखोप सुनिश्चितता वडा घोषणा गरिसकिएको छ भने अन्य वडाहरूलाई पनि क्रमशः घोषणा गर्ने तयारी भइरहेको छ । गाउँपालिकाले सबै वडामा खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै शतप्रतिशत बालबालिकालाई खोपको दायरामा ल्याउने लक्ष्य राखेको जनाएको छ ।

वडा अध्यक्ष चन्द्रमान बुढाले नियमित कार्यक्रमअनुसार खोप उमेर समूहका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउने सुनिश्चिततासहित वडादेखि पालिका हुँदै जिल्लास्तरसम्म घोषणा गर्ने प्रक्रिया अघि बढाइएको बताए ।  उनले स्वास्थ्य क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भए पनि वडा नं दुई मा स्वास्थ्यकर्मीको अभाव प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै आवश्यक जनशक्ति व्यवस्थापनका लागि गाउँपालिकामा निरन्तर पहल भइरहेको जानकारी दिए । स्थानीय तहले पूर्णखोप सुनिश्चितता कार्यक्रमलाई दीगो बनाउन समुदाय, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा सेवा अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाएको छ ।