राउटे बस्तीमा स्वास्थ्य परीक्षण

सुर्खेत । कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले राउटे समुदायको बस्तीमै पुगेर स्वास्थ्य परीक्षण तथा पोषिलो खानेकुरा वितरण गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गुर्भाकोट नगरपालिका–१४ गोडाखोला क्षेत्रमा बसोबास गरिरहेको राउटे बस्तीमा स्वास्थ्य सेवा प्रदान गरिएको हो । प्रहरी अस्पतालका अनुसार ४० घरधुरीका एक सय ३२ जना राउटे सदस्य मध्ये ३३ पुरुष, १९ महिला र २५ बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ। गर्मी बढेसँगै राउटे समुदायमा रुघाखोकी, पखाला लगायतका स्वास्थ्य समस्या देखिन थालेपछि स्वास्थ्य टोली बस्तीमै पुगेको हो ।

राउटे समुदाय हप्तादिनअघि मात्रै गोडाखोलाको जंगल आसपासमा बसाइँ सरेको थियो। उनीहरूको परम्पराअनुसार कम्तीमा एक हप्तादेखि बढीमा चार महिनाभित्र बसाइँ सर्ने चलन रहेको छ । कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख श्यामकृष्ण लौडारीका अनुसार स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि तथा पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । प्रहरी निरीक्षक डा. सञ्जीव खड्कासहित छ सदस्यीय स्वास्थ्य टोली बस्तीमा खटिएको थियो । राउटे मुखिया प्रकाश शाहीले पहिले समुदायका सदस्यहरू उपचारप्रति विश्वास नगर्ने गरे पनि पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवा लिन थालेको बताए । “प्रहरी डाक्टरबाट स्वास्थ्य जाँच र औषधि पायौँ, बस्तीमा पखाला, खोकीलगायत समस्या देखिएका छन्,” उनले भने ।

घुमन्ते जीवनशैली, पोषणयुक्त खानाको अभाव, सरसफाइको कठिनाइ तथा समयमै उपचार नपाउने अवस्था राउटे समुदायका प्रमुख स्वास्थ्य चुनौतीका रूपमा रहेका छन् । पछिल्ला वर्षहरूमा समुदायमा मदिरा सेवन बढ्दै जाँदा स्वास्थ्य समस्या थप जटिल बन्दै गएको सरोकारवालाहरूको भनाइ छ । विशेषगरी वृद्धहरूमा मदिराजन्य समस्या र शिशु मृत्युदर बढ्दो चुनौती बनेकाले राउटे समुदायको स्वास्थ्य सुरक्षामा दीर्घकालीन योजना आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।