सुर्खेत । कर्णाली प्रदेशका सबै ७९ वटै स्थानीय तहमा बालअधिकारको संरक्षण, संवर्धन तथा संस्थागत विकासलाई प्रभावकारी बनाउने उद्देश्यले सरोकारवाला निकायहरूबीच महत्वपूर्ण समझदारी भएको छ । नेपाल नगरपालिका सङ्घ कर्णाली प्रदेश, गाउँपालिका राष्ट्रिय महासङ्घ कर्णाली प्रदेश र बालअधिकारका लागि साझा अभियान बीच आइतबार सुर्खेतमा आपसी साझेदारी पत्रमा हस्ताक्षर गरिएको हो । समझदारीपत्रमा नेपाल नगरपालिका सङ्घ कर्णाली प्रदेशका अध्यक्ष हस्त पुन, गाउँपालिका राष्ट्रिय महासङ्घका प्रदेश अध्यक्ष नीमबहादुर केसी तथा बालअधिकारका लागि साझा अभियानका प्रदेश महासचिव विष्णुप्रसाद शर्मा ले हस्ताक्षर गरेका थिए ।
समझदारी अनुसार सन् २०२८ सम्म कर्णाली प्रदेशका ५४ गाउँपालिका र २५ नगरपालिका गरी कुल ७९ वटै स्थानीय तहमा बालअधिकार केन्द्रित विशेष कार्यक्रम सञ्चालन गरिनेछ । सरकारी तथा गैरसरकारी निकायबीच प्रभावकारी समन्वय, सहकार्य र साझेदारीमार्फत बालअधिकार सुनिश्चित गर्नु समझदारीको मुख्य उद्देश्य रहेको जनाइएको छ । टेकराज आचार्य का अनुसार आगामी पाँच वर्षभित्र बालअधिकारका क्षेत्रमा भइरहेका कामहरूको दोहोरोपन हटाउने, विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि लक्षित कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीय बालअधिकार समितिलाई सक्रिय बनाउने योजना अघि सारिएको छ ।
साथै बाल क्लब तथा बाल क्लब सञ्जालको क्षमता अभिवृद्धिमा पनि जोड दिइने बताइएको छ । समझदारीपत्रमा स्थानीय तहले बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न सहजीकरण गरिने उल्लेख छ । प्रत्येक स्थानीय तहले वार्षिक रूपमा बालबालिकाको अवस्थासम्बन्धी प्रतिवेदन तयार गरी सार्वजनिक गर्नुपर्ने, ‘बालकल्याण अधिकारी’ नियुक्त वा तोक्नुपर्ने तथा बाल कोष स्थापना गर्नुपर्ने व्यवस्था पनि समेटिएको छ ।
त्यसैगरी सामाजिक परामर्शदाता र समाजसेवीहरूको सूची तयार गरी सिफारिस संयन्त्र निर्माण गर्ने, बालअधिकार संरक्षणको अवस्था मूल्याङ्कन गर्न संयुक्त अनुगमन, अध्ययन तथा अनुसन्धान सञ्चालन गर्ने सहमति पनि भएको छ । समझदारीपछि हस्त पुन ले स्थानीय तहहरूले विगतदेखि नै बालकेन्द्रित नीति, पोषण योजना तथा आवश्यक बजेट व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै नयाँ समझदारीले बाल संरक्षण सम्बन्धी कार्यक्रमहरूको कार्यान्वयनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।



कार्यविधि संवाददाता । ५ जेष्ठ २०८३, मंगलवार १४:५९ बजे