डोल्पा । जिल्लाका आठ स्थानीय तहमध्ये जगदुल्ला गाउँपालिका आर्थिक अनुशासन र बेरुजु न्यूनिकरणमा जिल्लामै अग्रस्थानमा देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन अनुसार जगदुल्ला गाउँपालिकाको बेरुजु २२ लाख ७१ हजार रुपैयाँ (०.३६ प्रतिशत) मात्र रहेको छ । नीति, नियम र निर्देशिकाको कडाइका साथ पालना, आन्तरिक लेखापरीक्षण प्रभावकारी र शाखागत समन्वयका कारण बेरुजु न्यून भएको बताइएको छ ।
जिल्लाका अन्य स्थानीय तहमध्ये ठुलीभेरी नगरपालिका मा सबैभन्दा बढी चार करोड ६९ लाख ३१ हजार रुपैयाँ (४.६१ प्रतिशत) बेरुजु देखिएको छ । त्यस्तै डोल्पोबुद्ध गाउँपालिका मा ०.९९ प्रतिशत, शे-फोक्सुण्डो गाउँपालिका मा १.४५ प्रतिशत, काइके गाउँपालिका मा १.५६ प्रतिशत, छार्का ताङसोङ गाउँपालिका मा १.८३ प्रतिशत, मुड्केचुला गाउँपालिका मा २.०६ प्रतिशत र त्रिपुरासुन्दरी नगरपालिका मा २.६८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।
जगदुल्ला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर पाण्डे का अनुसार बजेट कार्यान्वयनमा अनुशासन, स्पष्ट निर्देशिका र आन्तरिक लेखा परीक्षण प्रभावकारी भएकाले बेरुजु न्यून भएको हो। त्यस्तै प्रशासकीय अधिकृत केशव राज पाण्डे ले धेरैजसो बेरुजु पेश्की स्वरूप रहेको र फर्छ्यौटपछि अझै घट्ने बताए । गाउँपालिका अध्यक्ष नारासिं रोकाय ले आर्थिक पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्दै बेरुजु शून्यमा झार्ने लक्ष्यका साथ काम भइरहेको बताए । गत वर्ष पनि जगदुल्ला गाउँपालिका जिल्लामै कम बेरुजु हुने स्थानीय तह बनेको थियो । यस वर्ष भने यो उपलब्धि कर्णाली प्रदेशमै उत्कृष्टमध्ये पर्ने रूपमा देखिएको छ ।



कार्यविधि संवाददाता । ५ जेष्ठ २०८३, मंगलवार १५:३० बजे