डोल्पा । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा जिल्ला समन्वय समिति डोल्पाको आयोजनामा सदरमुकाम दुनै बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ । सार्वजनिक स्थलहरूको सरसफाइ गर्दै वातावरण स्वच्छ राख्ने उद्देश्यसहित कार्यक्रम गरिएको हो । जिल्ला समन्वय प्रमुख श्याम बहादुर रोकायाको नेतृत्वमा सम्पन्न सरसफाइ अभियानका क्रममा कालिका मन्दिर, सन्तोषीमाता मन्दिर, बसपार्कलगायत बजार क्षेत्र सफा गरिएको थियो ।
बजार क्षेत्र वरिपरि जम्मा भएको फोहोर संकलन गरी व्यवस्थापन गरिएको सहभागीहरूले बताएका छन् । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका सदस्य तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले सामूहिक रूपमा सरसफाइ गर्दै सार्वजनिक स्थललाई स्वच्छ र सुन्दर बनाउने प्रयास गरेका थिए ।
जिल्ला समन्वय समितिले यस्ता अभियानले समुदायमा सरसफाइप्रति चेतना बढाउने र सार्वजनिक स्थानलाई व्यवस्थित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । यसैबीच, गणतन्त्र दिवसको अवसरमा शुक्रबार जिल्ला समन्वय समितिको प्राङ्गणबाट प्रभातफेरी कार्यक्रम आयोजना गरिने समितिले जनाएको छ । उक्त कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी, विद्यार्थी र स्थानीयवासीको सहभागिता रहने अपेक्षा गरिएको छ ।



कार्यविधि संवाददाता । १४ जेष्ठ २०८३, बिहीबार १३:४३ बजे