हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका दुई स्थित देउली बजारमा रहेको महादेव माध्यमिक विद्यालयको जग्गा अतिक्रमण गरी निर्माण गरिएका २४ वटा घरटहरा गाउँपालिकाले हटाएको छ । सार्वजनिक जग्गा संरक्षण तथा विद्यालयको स्वामित्वमा रहेको भूमि फिर्ता गराउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत ती संरचना जेसिबी प्रयोग गरी भत्काइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार विद्यालयको नाममा रहेको जग्गामा करिब २० वर्षअघि विभिन्न व्यक्तिहरूले घरटहरा निर्माण गरेका थिए। समयसँगै ती घरटहराको संख्या बढ्दै जाँदा विद्यालय परिसरभित्रै सानो बस्तीको विकास भएको थियो। ढुङ्गा–माटोले बनेका तथा जस्तापाताले छाएका ती संरचनाले विद्यालयको भौतिक विस्तार तथा शैक्षिक गतिविधिमा समेत असर पुर्याइरहेको गाउँपालिकाको भनाइ छ ।
अध्यक्ष शाहीले सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीय सरकारको दायित्व भएकाले लामो समयदेखि अतिक्रमणमा परेको विद्यालयको जग्गा खाली गराउने निर्णय गरिएको बताए । उनका अनुसार गाउँपालिकाले कानुनी प्रक्रिया पूरा गर्दै चरणबद्ध रूपमा अतिक्रमित संरचना हटाउने प्रयास गरेको थियो । यसअघि गाउँपालिकाले दुई वर्षअघि नै ३५ दिने सार्वजनिक सूचना जारी गर्दै विद्यालयको जग्गामा निर्माण गरिएका घरटहरा हटाउन सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको थियो। तर सूचनाको बेवास्ता गरिएपछि हालै पुनः सात दिने अन्तिम सूचना प्रकाशित गरिएको थियो । अन्तिम सूचनापछि पनि घरधनीहरूले संरचना नहटाएपछि गाउँपालिकाले आवश्यक उपकरण प्रयोग गरेर घरटहरा हटाउने निर्णय कार्यान्वयन गरेको हो ।
गाउँपालिकाका अनुसार अतिक्रमित क्षेत्र खाली गराउने क्रममा कुनै अप्रिय घटना हुन नदिन स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सरोकारवाला पक्षको समन्वयमा काम गरिएको थियो। संरचना हटाउने कार्य सम्पन्न भएपछि भग्नावशेष व्यवस्थापन, सरसफाइ तथा जमिन सम्याउने कामसमेत गरिएको छ । स्थानीय स्रोतका अनुसार विद्यालय परिसरमा निर्माण गरिएका घरटहरामा बसोबास गर्ने अधिकांश परिवारको वडा नम्बर दुई अन्तर्गतको गर्खा गाउँमा पुर्ख्यौली घर रहेको छ । विद्यालयको जग्गामा बसोबास गर्दै आएका ती परिवारहरू संरचना हटाइएपछि आफ्नो पुरानो बासस्थानतर्फ फर्किएका छन्। केही परिवारले भने वैकल्पिक बसोबासको व्यवस्था मिलाएको बताइएको छ ।
महादेव माध्यमिक विद्यालय व्यवस्थापन पक्षले विद्यालयको जग्गा फिर्ता भएकोमा खुसी व्यक्त गरेको छ। विद्यालय प्रशासनका अनुसार जग्गा अभावका कारण विद्यालयले आवश्यक भौतिक पूर्वाधार विस्तार गर्न कठिनाइ भोग्दै आएको थियो। अब खाली भएको क्षेत्र विद्यालय भवन, खेलमैदान, पुस्तकालय, प्रयोगशाला तथा अन्य शैक्षिक संरचना निर्माणका लागि प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ । स्थानीय तहका जानकारहरूका अनुसार सार्वजनिक जग्गा अतिक्रमणको समस्या हुम्लाका विभिन्न स्थानमा देखिँदै आएको छ। तर अतिक्रमित संरचना हटाउन स्थानीय सरकारले प्रत्यक्ष रूपमा कदम चालेको यो घटना जिल्लाकै उल्लेखनीय उदाहरणका रूपमा हेरिएको छ। चङ्खेली गाउँपालिकाले सार्वजनिक सम्पत्ति संरक्षणमा कडा नीति अवलम्बन गरेको भन्दै केही स्थानीयले यसको स्वागत गरेका छन् भने प्रभावित परिवारहरूले आफ्नो पक्ष पनि सुनुवाइ हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
गाउँपालिकाले भने सार्वजनिक हित, कानुनी व्यवस्था र शैक्षिक संस्थाको संरक्षणलाई प्राथमिकता दिँदै अभियान सञ्चालन गरिएको स्पष्ट पारेको छ। अध्यक्ष शाहीका अनुसार विद्यालयको जग्गा मात्रै नभई अन्य सार्वजनिक जग्गा, खुला क्षेत्र तथा सरकारी सम्पत्तिमा भएका सम्भावित अतिक्रमणबारे पनि खोजी तथा अनुगमन कार्य जारी राखिएको छ । आवश्यक परे आगामी दिनमा अन्य अतिक्रमित संरचनाविरुद्ध पनि कानुनी प्रक्रिया अघि बढाइने उनले बताए । चङ्खेली गाउँपालिकाको यो कदमलाई स्थानीय तहको सार्वजनिक सम्पत्ति संरक्षण अभियानका रूपमा हेरिएको छ । विद्यालयको जग्गा फिर्ता भएसँगै अब उक्त क्षेत्र शैक्षिक विकास तथा पूर्वाधार विस्तारका लागि उपयोग हुने अपेक्षा गरिएको छ ।



कार्यविधि संवाददाता । १६ जेष्ठ २०८३, शनिबार १२:११ बजे