जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नं. नित जोगीबाडा र नाग्मा–गमगढी राजमार्गलाई जोड्ने मोटरेबल पक्की पुलको शिलान्यास गरिएको छ । लामो समयदेखि स्रोत सुनिश्चितताको अभावमा निर्माण हुन नसकेको पुल कर्णाली प्रदेश सरकारले बजेट सुनिश्चित गरेपछि निर्माण प्रक्रियामा अघि बढेको हो । पुलको शिलान्यास जुम्ला प्रदेशसभा (ख) का सांसद टेकराज पछाई ले गर्नुभएको हो। पुल निर्माण हुने भएपछि स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् । पूर्वाधार विकास कार्यालय जुम्ला का प्रमुख रूपबहादुर रावल का अनुसार पुल निर्माणका लागि रु छ करोड ३४ लाख ४३ हजार १०९ रुपैयाँ १५ पैसाको लागत अनुमान गरिएको छ ।
ठेक्का नं. २३/२०८२–८३ अन्तर्गत निर्माण हुन लागेको उक्त पुल ४०.८४ मिटर लम्बाइ र छ मिटर चौडाइको हुनेछ । कार्यालयका अनुसार पुल निर्माणका लागि मल्ल कन्स्ट्रक्सन प्रा.लि. सँग २०८३ वैशाख ११ गते ठेक्का सम्झौता भइसकेको छ । शिलान्यास कार्यक्रममा सांसद पछाईले स्थानीयवासीको मागलाई प्राथमिकतामा राख्दै जोगीबाडा गाउँ जोड्ने पुलका लागि स्रोत सुनिश्चित गर्न पहल गरिएको बताए । उनले शिलान्याससँगै पुल निर्माणको कामले गति लिने विश्वास व्यक्त गर्दै आगामी दिनमा स्थानीय तहको आवश्यकता र मागका आधारमा विकास योजनाहरू कार्यान्वयन गरिने उल्लेख गरे ।
सिंजा क्षेत्रबाट बग्ने हिमा नदीमा पुल नहुँदा जोगीबाडा लगायत आसपासका बासिन्दाले वर्षौंदेखि आवतजावतमा कठिनाइ भोग्दै आएका थिए । पुल निर्माण भएपछि गाउँसम्म सवारीसाधन पुग्ने र वडा नं. तिन को पहुँच थप सहज हुने अपेक्षा गरिएको छ। स्थानीय तिर्थनाथ योगीले पुल निर्माणपछि मोटरबाटो गाउँसम्म पुग्ने भएकाले स्थानीयको लामो समयदेखिको सपना पूरा हुने बताउनुभयो। अर्का स्थानीय गोरेनाथ योगीले पनि मोटरेबल पुल निर्माण हुने निश्चिततासँगै गाउँमा उत्साह र आशा बढेको प्रतिक्रिया दिनुभयो। स्थानीयवासीका अनुसार जोगीबाडा पुल निर्माणका लागि विगतमा पटक–पटक माग गरिए पनि पर्याप्त बजेट विनियोजन नहुँदा योजना अलपत्र पर्दै आएको थियो । यसपटक कर्णाली प्रदेश सरकारले स्रोत सुनिश्चित गरेपछि पुल निर्माणको आशा बलियो बनेको छ ।



कार्यविधि संवाददाता । १६ जेष्ठ २०८३, शनिबार १४:५५ बजे