दैलेखमा बोलेरो जीप दुर्घटना, ८ जना गम्भीर घाइते

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बोलेरो जीप दैलेखमा दुर्घटना भएको छ।

दैलेखको भैरवी गाउँपालिका वडा नं ५ स्थित कालगौडामा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्।

घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गम्भीर घाइते हुनेहरूमा चालक कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–५ निवासी अन्दाजी ३५–३६ वर्षीय कलबहादुर रोकाय रहेका छन्। उनको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।

त्यसैगरी शुभकालिका गाउँपालिका–४ निवासी ३८ वर्षीय चक्र सुनार, वडा नं. ६ निवासी २० वर्षीय भरत विक, वडा नं. ५ निवासी २५–२६ वर्षीय कलम सुनार, वडा नं. ४ निवासी ३८–३९ वर्षीय मित्र सुनार, वडा नं. ६ निवासी २६–२७ वर्षीय सुमत विक, वडा नं. ६ निवासी ६० वर्षीया पुल्तिसरा विक तथा वडा नं. ४ निवासी ४०–४५ वर्षीय नैन सुनारको अवस्था पनि गम्भीर रहेको जनाइएको छ।

घाइतेको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल दैलेख रिफर गरिएको हो।

सबै घाइतेहरूको उपचार जारी रहेको र स्वास्थ्य अवस्थाबारे निगरानी भइरहेको प्रहरीले जनाएको छ।