गुठिचौरको ३८ करोड बजेट सार्वजनिक, कृषि–पर्यटनमा जोड

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३८ करोड ३६ लाख ८३ हजार एक सय ३२ रुपैयाँ बराबरको वार्षिक नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।  जिल्लाका आठ स्थानीय तहमध्ये गुठिचौर पहिलो गाउँपालिका हो जसले नयाँ बजेट सार्वजनिक गरेको हो । हालै राजनीतिक परिवर्तनपछि अध्यक्ष दानबहादुर बुढा रास्वपा प्रवेश गरेसँगै निर्वाचन आयोगले उनकाे पद रिक्त भएको सूचना जारी गरेको थियो । त्यसपछि उपाध्यक्ष शान्तिमल्ल भण्डारीको सभाध्यक्षतामा बसेको २३औँ गाउँसभा बैठकले नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।

अब उपाध्यक्ष भण्डारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएकी छन् । कार्यवाहक अध्यक्ष भण्डारीले “समृद्ध गुठिचौर” निर्माणको लक्ष्यसहित बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले आन्तरिक आय ३० लाख रुपैयाँ अनुमान गर्दै संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानलाई आधार बनाएर डल्लो बजेट तयार गरेको छ। यद्यपि वडागत तथा विषयगत विनियोजन भने आगामी बैठकबाट टुंगो लगाइनेछ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड २० लाख, सशर्त अनुदान १० करोड ५९ लाख, विशेष अनुदान नाै करोड पाँच लाख, समपूरक अनुदान एक करोड ७३ लाख र राजस्व बाँडफाँडमार्फत नाै करोड ८५ लाखभन्दा बढी रकम प्राप्त भएको छ । यस्तै प्रदेश सरकारबाट पनि विभिन्न शीर्षकमा गरी थप करिब चार  करोड ६० लाखभन्दा बढी अनुदान प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । गुठिचौर उपत्यकामा प्याराग्लाइडिङ महोत्सवलाई निरन्तरता दिने, आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने योजना समावेश गरिएको छ । त्यस्तै, घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने, कृषि उत्पादन वृद्धि गर्न पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने तथा उत्पादित वस्तुको बजारीकरणलाई सहज बनाउने नीति लिइएको छ ।

गाउँपालिकाले निजी क्षेत्रसँग सहकार्य गरी लगानी आकर्षित गर्ने र युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने लक्ष्य पनि राखेको छ । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार विनियोजन ऐन र आर्थिक ऐन पारित भइसकेको छ भने बजेटको विस्तृत बाँडफाँड आगामी बैठकबाट गरिनेछ । गाउँपालिकाले सीमित स्रोतमा अधिकतम विकास गर्ने लक्ष्यसहित कार्यक्रम कार्यान्वयनमा जोड दिने जनाएको छ ।