विद्यालयको अक्षय कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको पाइएपछिल प्रधानाध्यापक माथि मुद्दा दायर गरिएको छ । कास्कीको कैलाश टेत्सुओ प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकले भ्रष्टाचार गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ मा सञ्चालित श्री कैलाश टेत्सुओ प्राथमिक विद्यालयको शौचालय निर्माण गर्नको लागि निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम विद्यालयका तत्कालीन प्रधानाध्यापक नारायणप्रसाद पौडेलले हिनामिना गरेका छन् ।
भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा जिल्ला शिक्षा कार्यालय, कास्कीबाट आ.व. २०६७/०६८ मा उक्त विद्यालयको शौचालय निर्माण गर्नका लागि रकम निकासा भएकोमा, सो कामका लागि तत्कालीन प्रधानाध्यापक नारायणप्रसाद पौडेलले उक्त रकम बैकबाट झिकेको तर शौचालय निर्माणको लागि कुनै पहल नगरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयबाट कार्य सम्पन्न हुन नसकेको भए उक्त रकम बेरुजु खातामा दाखिला गर्न पटक–पटक निर्देशन दिइए पनि प्रधानाध्यापक नारायणप्रसाद पौडेलले रकम दाखिलासमेत नगरी शौचालय निर्माणको लागि आएको दुई लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको एक लाख बाह्र हजार रकम हिनामिना गरेको अख्तियारको भनाई छ ।
पौडेलले विद्यालयको रकम हिनामिना गरी सार्वजनिक सम्पतिको हानिनोक्सानी गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा सोही दफामा उल्लेख भएबमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम विगो रकम तीन लाख बाह्र हजार रुपैयाँ कायम गरी कैद र विगो बमोजिमको जरिवाना हुन तथा सोही ऐनको दफा १७ बमोजिम हानीनोक्सानी भएको बिगो रकम निजबाट असुल उपर हुनसमेत मागदावी लिई बिशेष अदालत काठमाडाैंमा मुद्धा दायर गरिएकाे छ ।
कार्यविधि संवाददाता । ५ असार २०८०, मंगलवार १०:३१ बजे