नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्न आजदेखि चार घण्टा बन्द

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन पाइने छ ।

काठमाडौंबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए ।

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ। एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनले बताएकाे छ ।