जाजरकोट । जाजरकोट जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको आगलागीका कारण करोडौँ रुपैयाँ बराबरको वन सम्पत्ति नष्ट भएको छ । विशेषगरी शिवालय गाउँपालिकाका विभिन्न वडामा फैलिएको आगोले वन क्षेत्र व्यापक रूपमा प्रभावित बनेको छ । शिवालय गाउँपालिका–१, २, ३, ४, ८ र ९ नम्बर वडाका जङ्गलहरूमा लागेको आगोले ठूलो क्षति पुर्याएको हो । वडा नं. १ को चुली सामुदायिक वन, वडा नं. २ को ढाँडमेला, वडा नं. ३ को सीमा शान्ति ऐरेली तथा वडा नं. ८ का बस्नेउडा, लिस्पानी र चिन्तेडाँडा सामुदायिक वनमा आगलागी भएको छ । स्थानीय बासिन्दाका अनुसार सम्बन्धित निकायको लापरबाहीका कारण हरेक वर्ष यस्तो घटना दोहोरिने गरेको छ । समयमै आगो नियन्त्रण गर्न नसक्दा आगलागी झन् फैलिँदै गएको छ, जसले वन्यजन्तुको बासस्थानमा समेत गम्भीर असर पारेको छ ।
शिवालय–३ का स्थानीय तिलक नेगीका अनुसार खोटो सङ्कलनका क्रममा आगलागी हुने गरेको छ । वन उपभोक्ता समितिले जथाभावी रूपमा खोटो सङ्कलन र काठको पुर्जी वितरण गर्दा वन संरक्षणमा बेवास्ता भएको उनको आरोप छ । यसैबीच, आगो लगाएपछि छिटो घाँस पलाउने भन्ने गलत धारणा पनि आगलागीको एउटा प्रमुख कारण बनेको छ । स्थानीय तहमा पर्याप्त पहल नहुँदा आगोले धेरै क्षेत्र ढाकेको छ । वनमा लागेको आगलागीका कारण वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै तिनीहरू लोप हुने अवस्थामा पुगेका छन् । साथै, भूक्षय, बाढीपहिरोको जोखिम वृद्धि तथा मौसममा नकारात्मक असर समेत देखिएको छ । आगलागी नियन्त्रणमा डिभिजन वन कार्यालय, सब–डिभिजन वन कार्यालय र उपभोक्ता समितिबीच समन्वय अभाव देखिएको छ। यद्यपि, आगलागी गर्ने व्यक्तिको पहिचान हुन नसक्दा समस्या झन् जटिल बन्दै गएको छ ।



कार्यविधि संवाददाता । २२ चैत्र २०८२, आईतवार १२:०९ बजे