कर्णाली नदीमाथि तारमा पाइप बाँधेर पानी ल्याइदै

हुम्ला ।  हुम्लाको सर्केगाड गाउँपालिका–२ खडीखेतका स्थानीयले खानेपानी अभाव समाधान गर्न अनौठो तर प्रभावकारी उपाय अपनाएका छन् । रिपगाउँस्थित मुहानबाट ल्याइएको पाइपलाई तारमा बाँधेर कर्णाली नदी पार गराउँदै उनीहरूले खानेपानीको व्यवस्था गरेका हुन् । स्थानीय झग फडेराका अनुसार नजिकै कर्णाली नदी बगे पनि त्यसको पानी धमिलो र प्रयोगयोग्य नभएकाले सफा पानी ल्याउन आफ्नै लगानीमा यस्तो व्यवस्था गरिएको हो । उनले भने, “यो उपाय नगरेको भए कर्णालीकै फोहर पानी खानुपर्ने बाध्यता हुन्थ्यो ।

कर्णाली कोरिडोर सडक सञ्चालनमा आएपछि खडीखेत क्षेत्रमा बसोबास बढ्दै गएको छ । हाल त्यहाँ करिब १५ परिवार बस्दै आएका छन् । ती सबैले तारमार्फत नदी पार गरेर ल्याइएको पाइपबाट पानी उपभोग गर्दै आएका छन् । सडक भएर यात्रा गर्ने यात्रुहरूले पनि यही पानी प्रयोग गर्ने गरेका छन् । स्थानीय मुसी फडेराले यो अस्थायी समाधान भए पनि दीर्घकालीन खानेपानी व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । साथै, रिप र उनापानी गाउँ आउजाउ गर्न अझै पनि तुइन प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।